हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी जिल्ला अदालतले हत्या अभियोगमा २० वर्ष कैद सजाय सुनाएपनि फरार रहेका साविक एकम्बा गाविस-४ (हाल इटहरी उपमहानगरपालिका) बस्ने ३२ वर्षीय एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एकम्बामा ०६४ साल बैशाख २९ गते भएको हत्या घटनाका फरार प्रतिवादी कृष्णकुमार धामी पक्राउ परेका हुन् । साथीको विवाहमा उनीसहित जन्ती गएका पाँचजनाले सुनसरीको साविक चांदवेला ७ मधेसा टोलस्थित प्रभुराम चौधरीको घर अगाडि साविक एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरको हत्या गरेका थिए । छुरा प्रहारपछि गम्भीर घाइते ठाकुरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

बेहुलीको घरमा स्वयंवर हुँदै गर्दा ठाकुरलाई छुरा प्रहार गरी हत्या गरेपछि उनीसहित पाँचै जना फरार भएका थिए । स्वयंवरको बेला बेहुलीको अगाडि उभिएको भन्ने निहुँमा विवाद हुँदा ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरको हत्या गर्दा धामीको उमेर १९ वर्षको थियो । ठाकुरको मृत्यु भएपछि उनको बुबाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि धामीको खोजी भइरहेको थियो । रामधुनी नगरपालिका ६ घर भएपनि धामी मोरङको उर्लाबारीमा डेरा गरि बस्दै आएका थिए ।

फरार धामीलाई प्रहरीले उर्लाबारी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरी आइतबार अदालतको आदेश अनुसार कैद भुक्तानको लागि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन आधारहीन, सरकार यसलाई पूर्णत खारेज गर्दछ : सरकारका प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको भन्दै यसलाई खारेज गरिएको बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बद्नाम गरिएको बताए ।

'विश्व सूचकांकमा नेपालको प्रगति राम्रो छ भनिरहेको छ । ३ करोड जनता रहेकोमा एक हजार जनामा फोनबाट सर्वेक्षण गरिएको छ । जुन थोरै हो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक छन् । राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदन हो यो,' मन्त्री गुरुङले भने, 'सरकारविरुद्ध गतिविधि गर्ने व्यक्तिको धारणा लिएर प्रतिवेदन तयार पारिएको छ । सरकारविरुद्धमा मिसनको रुपमा प्रतिवेदन तयार पारिएको छ। सरकारप्रति वितृष्णा जगाउने काम गरिएको छ ।'

उनले बाघ कराउनु र बाख्रा हराउनुजस्तो केही प्रतिक्रियावादीले अभियान चलाएको पनि बताए । जनतामा निराशा र भ्रम छर्ने प्रयास भएको छ र जनतालाई भड्काउने प्रयास भइरहेको भन्दै उनले त्यस्ता कार्यमा संलग्न नहुन सरकारले अपिल गरेको पनि उल्लेख गरे ।

'ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको हो,' गुरुङले भने ।

प्रकाशित : मंसिर १४, २०७७ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×