भोजपुरको लम्सुवाघाटमा दस वर्ष बित्दा पनि बनेन पुल- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोजपुरको लम्सुवाघाटमा दस वर्ष बित्दा पनि बनेन पुल

एलिसा श्रेष्ठ

भोजपुर — संखुवासभा र भोजपुरको सीमा लम्सुवाघाटस्थित अरुण नदीमा निर्माण थालिएको मोटरेबल पुल दस वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । २०६७ असार २५ गते तीन वर्षभित्र काम सक्ने गरी स्वच्छन्द निर्माण कम्पनीले उक्त पुलको ठेक्का लिएको थियो ।

२०६७ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुल शिलान्यास गरेका थिए । लामो समय निर्माण रोकिएपछि पुलको डिजाइन नै परिवर्तन गरेर समय थपिएको थियो । १ सय ६७ मिटर लामो पुल बनाउन अहिलेसम्म ६ वटा पिल्लर उठाउने काम मात्रै भएको छ । पिलर राख्ने र खाल्डो खन्ने क्रममा ढुंगा भेटिएको भन्दै ठेकेदारले काम छोडेको थियो ।

सम्झौताअनुसार २०७० असार २५ सम्म पुल बनाइसक्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थपिएको थियो । थपिएको समय उहिल्यै सकिए पनि ठेकेदारले अझै पुल बनाउने छाँट देखिएको छैन ।

सुरुमा १३ करोड ५ लाख रुपैयाँको लागत अनुमान गरिएको पुलको खर्च अहिले बढेर १६ करोड ६३ लाख पुगेको छ । उक्त पुल नबन्दा लम्सुवाघाटका बासिन्दा १५ किलोमिटर घुमाउरो बाटो हिँड्न बाध्य छन् । उनीहरू खोला तर्न षडानन्द नगरपालिकाको झ्याउँपोखरीस्थित टोड्के पुल पुग्छन् । त्यहाँ डुंगाबाट खोला वारपार गराइन्छ । डुंगा चलाउनेले एक यात्रुबराबर ५० रुपैयाँ भाडा लिन्छन् ।

विद्यार्थी पनि दिनहुँ खोला तरेर विद्यालय जानुपर्ने बाध्यता छ । डुंगा चालक पुष्प कुमालका अनुसार विद्यार्थीको भाडा अभिभावकसँग वार्षिक रूपमा उठाउने गरिएको छ । जोखिम मोलेरै भए पनि छोराछोरीलाई पढ्न पठाउनु बाध्यता रहेको स्थानीय माधव कटुवालले बताए । भन्छन्, ‘पुल बनाउने भनेको ठाउँमा वर्षौंदेखि पिलर मात्रै छ, बन्दैन । छोराछोरीलाई नाउ तरेर पठाउनुपर्छ, बिहान हिँडेका नानीहरू कति बेला फर्कन्छन्, चिन्ता लागिरहन्छ ।’

पुल नबनेकै कारण षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका हजारौं स्थानीय कष्ट बेहोर्न बाध्य छन् । पुलको विकल्पमा षडानन्द नगरपालिकाले केही किलोमिटर दुरीमा रहेको सतीघाटमा मोटरेबल फेरी चलाएको छ । नगरपालिकाको १ करोड ३५ लाख, प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी करिब दुई करोड लागतमा फेरी चलेपछि नगरवासीलाई केही राहत मिलेको छ ।

पुनः डिजाइनअनुसार पुलमा चारवटा पिलर १६ मिटर गहिराइसम्म गाडिनुपर्ने प्राविधिकले औंल्याएका छन् । पिल्लर गाड्ने ठाउँमा चट्टान भेटिएपछि विस्फोट गर्दा पनि नफुटेकाले पुलको डिजाइन परिवर्तन गर्न लागिएको सडक डिभिजन कार्यालय, तुम्लिङटारका इन्जिनियर रोशन देवले बताए । ‘पुलको डिजाइनमा समस्या भएका कारण पुल महाशाखामा फाइल गएको छ । रि–डिजाइन स्वीकृत भएर आएपछि मात्र काम सुरु हुन्छ,’ उनले भने ।

दस वर्षमा पुलको ३० प्रतिशत काम भएको भनिए पनि फिल्डमा हेर्दा त्यस्तो नदेखिने स्थानीय भुवन हलिदेले बताए । उनले भने, ‘त्यस क्षेत्रबाट निर्वाचित भएर गएका केन्द्र, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिले समेत उक्त पुल निर्माणमा चासो दिएजस्तो देखिँदैन ।’

षडानन्द नगरपालिकाका मेयर वीरबल राईले पुल निर्माणका लागि आफ्नो क्षेत्रबाट पहल गरिरहेको जनाउँदै उक्त स्थानमा पुल निर्माण हुन नसके अन्य विकल्प खोज्नुपर्ने बताए । ‘प्राविधिक त्रुटि धेरै भएको पाइएको छ । उक्त पुलको विकल्पमा अन्य ठाउँमा निर्माणको योजना बनाउनुपर्ने देखिन्छ,’ उनले भने । यता, ठेकेदार स्वच्छन्द निर्माण कम्पनीले पुरानै डिजाइनअनुसार पुल निर्माण गर्न नसकिने भएकाले काम रोकिएको बताउँदै आएको छ ।


प्रकाशित : मंसिर १४, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ रक्षामन्त्री भन्छन्– 'द्विपक्षीय समझदारी कार्यान्वयन गर्न आएको हुँ'

रासस

काठमाडौँ — चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उहाँले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । 'भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ', कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए । चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित : मंसिर १४, २०७७ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×