लोकगायक सुरेश गन्धर्वको उपचारमा खर्च अभाव

प्रदीप मेन्याङ्बो

सुनसरी — बाल्यअवस्थादेखि नै सारंगीको सुरमा जीवनभर पूर्वेली लोकगीत सुनाए । केही गीतहरु चर्चित पनि भए । अहिले रोगले थला परेपछि आर्थिक अभावले उपचार गर्न नसकेर ६५ वर्षीय गायक सुरेश गन्धर्व मनकारी दाताहरुको पर्खाइमा छन् ।

लोकगायक सुरेश गन्धर्वको उपचारमा खर्च अभाव

मुटु, मधुमेह, थाइराइड, उच्च रक्तचाप र युरिक एसिडजस्ता दीर्घरोगले विगत सात वर्षदेखि थलिएका गायक गन्धर्व पूर्वमा सारंगी रेट्नेमा ‘बादशाह’ मानिन्छन् । तर उनको सारंगी रेट्ने बादशाही कलाले भने आर्थिक उपार्जनमा भरपर्दो साथ नदिएपछि रोगको उपचार गर्न सकेका छैनन् ।

धरानको नाट्य संस्था रंगभूमि एकेडेमीका निर्देशक विष्णु मोक्तानले गन्धर्व रोगले थला परेको जानकारी पाएपछि दुईचारजनासँग सल्लाह गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा गत सोमबार भर्ना गरे । मुटुरोग विषेशज्ञ समेत रहेका प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्राडा सञ्जिव शर्माले उनको थप उपचारका लागि मंगलबार ट्रपिकल वार्डको ४ नम्बर वेडमा सारिएको मोक्तानले बताए ।

सारंगीको तालमा उनले गाएको ‘रिन्केबुङको राँगालाई चुंकेबुङको चुलेसीले’ बोलको गीत चर्चित छ । उनैले गाएको र पछि उदय–मनिला सोताङले पनि गाएको ‘वारिखोला पारिखोला बीचैमा पापी दोभान’ लगायत गीतहरु पनि चर्चित छन् । ०४९ सालमा भोजपुरको जरायोटार माङ्दीमबाट बसाइँ सरेर धरान झरेपछि सडक, चौतारी, चोक गल्ली र विभिन्न कार्यक्रममा सारंगीको सुरुमा गीत सुनाएबापत पाएको रकमले आफ्नो र परिवारको जीविका चलाउँदै आएका गायक गन्धर्वले भने, ‘जीवनभर सारंगी रेटेर गाइयो । रोग लागेको बेला उपचार गर्न नसकी मरिएला भन्ने पीर थपियो ।’

धरानको बरगाछी चोक नजिकै अर्काको घरको कोठा भाडामा एक श्रीमती, छोराछोरी र नातीनातिनासहित बस्दै आएका उनको मुटुको भल्ब फेर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । तर आर्थिक अभावले रोग पालेर बसेका गन्धर्वले भने, ‘पैतृक सम्पत्तिको नाममा यही एउटा बुढो सारंगी छ । के को पैसाले उपचार गर्नु ? धन्न धरानका केही मनकारी भाइहरुले दया गरेर बीपी प्रतिष्ठानमा भर्ना गरिदिएका छन् ।’ उनले उपचारका लागि आर्थिक सहयोग गर्ने मनकारी दाताको खोजी गरिरहेको बताए ।

प्रकाशित : मंसिर ९, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?