मोरङमा कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षक र गाविस पूर्वअध्यक्षको मृत्यु

विनोद भण्डारी

विराटनगर — कोरोना भाइरसको संमक्रमणबाट मोरङमा एक सशस्त्र प्रहरी निरीक्षक र गाविसका पूर्वअध्यक्षको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङमा कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षक र गाविस पूर्वअध्यक्षको मृत्यु

३ नम्बर सशस्त्र प्रहरीको कंकालीनी गण टंकीसिनुवार मोरङमा कार्यरत ३३ वर्षीय सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकी र तत्कालीन पथरी गाविसका अध्यक्ष तिलक बान्तवा राईको मृत्यु भएको हो ।

तेह्रथुम स्थायी घर भएका बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २६ गते विराट मेडिकल कजेलमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनलाई कात्तिक २७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उनको भेन्टिलेटरमा उपचार भइरहेको अवस्थमा सोमबार राति मृत्यु भएको हो । उनको पछिल्लो पटक फोक्सोले काम नै गर्न छाडेको अस्पतालले जनाएको छ ।

त्यसैगरी मोरङको तत्कालीन पथरी गाविसका अध्यक्ष तिलक बान्तवा राईको पनि कोरोना संक्रमणको उपचारका क्रममा विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको छ ।

हालको पथरी शनिश्चरे नगरपालिका–१ निवासी राईलाई कात्तिक १ गते कोरोना पोजिटिभ पुष्टि भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेपछि स्वास्थ्यमा सुधार आएपछि उनी घर गएका थिए । तर उनलाई पुन: श्वासप्रश्वासमा समस्या देखिएपछि ५ दिन अगाडि विराट मेडिकल कलेजमा भर्ना गरिएको उनका आफन्तले जनाएका छन् ।

हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट ३ सय ४३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रायलको तथ्यांक छ । तथ्यांक अनुसार सबैभन्दा बढी सुनसरीमा १ सय २८ जना, मोरङमा १ सय ३ जना, झापामा ६३, उदयपुरमा ७, तेह्रथुम र इलाममा ४–४ जना, ताप्लेजुङमा दुई जना र संखुवासभा तथा पाँचथरमा १–१ जना र प्रदेश बाहिरका २५ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा हालसम्म २५ हजार ५ सय १८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २० हजार ९ सय ९० जना निको भएका छन् । त्यसैगरी प्रदेशमा अहिले ४ हजार १ सय ८५ जना सक्रिय संक्रमित रहेको र ४ हजार १२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित : मंसिर ९, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?