३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चाडबाड लगतै परीक्षा, विद्यालय सञ्चालनमा जोखिम

जितेन्द्र साह

विराटनगर — कोभिड–१९ महामारी बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ । चाडबाड लगतै परीक्षा र विद्यालय सञ्चालन गर्नु जोखिमपूर्ण भएकाले हदैसम्मको सावधानी अपनाउनु पर्ने देखिएको छ ।

चाडबाड लगतै परीक्षा, विद्यालय सञ्चालनमा जोखिम

कोभिड–१९ का कारणले ६ महिना पछि परीक्षा सरेकोले बालबालिकाको भविष्य र शैक्षिक क्यालेन्डरमा समेत यसको असर परेको छ ।

सरकारको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुरुप सुरक्षा मापदण्डको पालना गर्ने भन्दै महापर्व छठ पछाडि मोरङका केही विद्यालयमा विभिन्न सत्रमा नियमित पठनपाठन समेत सुरु गरेको छ । केही विद्यालयले अघोषित रुपमा दसैं अगावै पढाउन सुरु गरेका थिए ।

विराटनगरस्थित कोभिड–१९ अस्पतालका व्यवस्थापक ज्ञान बहादुर बस्नेतले चाडबाड मनाउने क्रममा कोरोना भाइरसले पारेको असरको अध्ययन पछि एउटा निचोडमा पुगेर परीक्षा एवं विद्यालय सञ्चालन गर्दा उचित हुने थियो भन्ने धारणा राखेका छन् । ‘महिनौंसम्म त धैर्य राख्यौं, अझ दुई साता कुर्दा फरक पर्दैन्थ्यो,’उनले भने,‘अझै केही समय पर्खेर र अवस्था हेरेर पाइला चाल्नु ठिक हुन्थ्यो ।’

तिहार र छठ सार्वजनिक रुपले मनाइने पर्व भएकोले जति सावधानी अपनाए पनि भीड भइहाल्ने उनले बताए । दशैं, तिहार र छठमा घर गएकाहरु फर्कने क्रम सुरु भएको छ । ‘अबको दुई साता पछि घट्नेबढ्ने संक्रमितको संख्या र मृत्यु दरले तुलनात्मक रुपमा हामी कति सुरक्षित छौं भन्ने निर्धारण गर्छ,’बस्नेतले भने । उनले जाँच र विद्यालयलाई सुरक्षित ढंगले सञ्चालन गराउने सम्बन्धमा छलफल गर्न सोमबार सामाजिक मन्त्रालयमा बैठक डाकिने बताए ।

हदैसम्मको सुरक्षा सावधानी अपनाएर जाँच गर्न लागिएकोले अभिभावक एवं बालबालिकाले डराउनु नपर्ने विराटनगरस्थित आदर्श विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालले बताए । उनको अनुसार भित्तादेखि पंखासम्म पखालेर स्यानिटाइज गरिएको छ । ‘कक्षाकोठालाई दुई पटक पखाल्यौं र पुछ्यौं, औषधि छर्कने कार्य जारी राखेका छौं,परीक्षा हुने हरेक कोठामा बोत्तलभरी स्यानिटाइजर राखेका छौं,’उनले भने,‘विद्यालयमा हात धुनलाई पर्याप्त साबुनपानीको प्रबन्ध छ ।’ जाँच सकिए पछि हरेक दिन कक्षाकोठाको सफाइ गरिने प्राचार्य दुलालले बताए ।

संक्रमण कायमै रहेको र मानवीय हताहती पनि भइरहेको हुनाले कुनै पनि विद्यालय व्यवस्थापनले कोरोनालाई सामान्य रुपमा लिन नहुने उनले प्रष्टयाए । प्रभावकारी ढंगले संक्रमण शुन्यको स्थितिमा जाँच गराउन सकेमा मात्र नियमित पठ्नपाठन बारे सोच्न सकिने प्राचार्य दुलालले बताए । ‘परीक्षाको प्रभाव कस्तो रहन्छ र कोरोनाको असर के हुन्छ भन्ने बुझेर सरकारले सबै शैक्षिक संस्था खोल्ने भनिरहेको छ,’उनले भने ।

स्वास्थ्यको मापदण्ड अपनाएर सामान्य जीवनमा फर्कनुको विकल्प नभए पनि कोरोना भाइरसको असरलाई हल्का रुपमा लिन नहुने कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट(मेसु) डा. चुमन लाल दासले बताए । ‘रोकिएको काम पनि अगाडी बढाउनु पर्यो, लामो समय घरभित्रै बस्न सम्भव नभएकाले सावधानी अपनाएर सामान्य जीवनमा फर्कनु पर्यो,’उनले भने,‘अन्य कुनै विकल्प छैन ।’ अभिभावक, परिवारजन, शिक्षक र बालबालिकाको तर्फबाट पनि सचेतना एवं सावधानी जरुरी भएको उनले बताए ।

कोभिड–१९ को संक्रमण कायमै रहेकै बेला हुन लागेको १२ कक्षाको परीक्षामा पुरा निगरानी राखेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘यो जाँच बालबालिकाको स्वास्थ्य र भविष्यसँग बरोबर जोडिएको छ, हामी सबैका छोराछोरी परीक्षामा सहभागी भइरहेका छन्,’उनले भने,‘सीडीयो साबसँग केन्द्रहरु पुगेर परीक्षार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जाँच भए/नभएको हेर्छौं ।’

सरकारले तय गरेको मापदण्ड अनुरुप अनिवार्य रुपले परीक्षा एवं कक्षा सञ्चालन गरिनु पर्ने मोरंगको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । नानीबाबुको स्वास्थ्य प्रतिकूल नहुने माहोलमा सरोकारवालाहरुले जिम्मेवारीपूर्वक जाँच गराउने भन्ने आशा राखेको उनले बताए । ‘प्रजिअको हैसियतले मोरङका हरेक जाँच केन्द्र र सञ्चालनमा आइरहेको विद्यालयको प्रत्यक्ष एवं परोक्ष अनुगमन गर्छौं,’निरौलाले भने ।

प्रकाशित : मंसिर ८, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?