१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्करले अवरोध गरेपछि प्रहरीद्वारा हवाई फायर

विराटनगर — भारतबाट अवैध रुपमा भित्रिइरहेको सामान नियन्त्रणमा लिने क्रममा तस्करहरुले अवरोध पुर्याएपछि आइतबार बिहान विराटनगर–जोगबनी सीमा क्षेत्रमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

प्रहरीका अनुसार उक्त क्रममा तस्करीमा संलग्‍न एक महिला १ सय ८ थान बेल्टसहित पक्राउ परेकी छन् । बिहारको जोगबनीसँग जोडिएको विराटनगर महानगरपालिका–१७ मटेरुवा बस्ती भएर भारतबाट नेपालतर्फ अवैध रुपमा सामान ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा बिहान ४ बजेर १० मिनेटमा सादा पोसाकमा मोरङ प्रहरीको टोली पुगेको थियो ।

ती सामग्री नियन्त्रणमा लिने क्रममा उक्त बस्तीका ५५ वर्षीय गुड्डु भन्ने आसिर आलम र ३७ वर्षीया अरबिना खातुनलगायत ९/१० जना प्रहरीसँग हुल हुज्जत गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त क्रममा तस्करीमा संलग्‍न खातुनलाई बेल्टसहित नियन्त्रणमा लिइएको र अन्य फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । बढिरहेको तस्करी नियन्त्रण गर्नलाई सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) ले समेत सीमा क्षेत्रमा संयुक्त गस्तीलाई बढाएको छ ।

करिब डेढ महिनाको अवधिमा भन्सार छलेर ल्याएको झन्डै ८० लाख रुपैयाँ बराबरको सामग्री नेपालतर्फका सुरक्षाकर्मीले बरामद गरेर विराटनगर भन्सारलाई बुझाएको छ । यसमा सुनको गरगहना २४ तोला र ६ लाख ६२ हजार ६ सय ५० रुपैयाँ हुन्डीको रकम समेत सामेल छ । प्रहरीका अनुसार बरामद अन्य सामग्रीमा गहुँ, दाल, मटर, जिरा, काजु, कपडा, पटका, कस्मेटिक, जुता, किरानाको विविध र सूर्तिजन्यलगायतका सामग्री छन् ।

प्रकाशित : मंसिर ७, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?