ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा आइतबार बिहान बम विस्फोट गराइएकाे छ । कार्यालयमा बिहान सवा एक बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए ।

ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

अर्को बम कार्यालयको गेटमा राखिएको छ । बम विस्फोटनबाट प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्ष पूणरुपमा क्षति पुगेको गाउँपालिका प्रमुख थापाले बताए ।

बम विस्फोटन हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूणरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । बाहिर अर्काे बम राखिएको हुँदा घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दाहालले बताए । कार्यालयको गेटमा राखिएको बम डिस्पोजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

बम विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा महेन्द्ररत्न माध्यमिक विद्यालयको भवनमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

बम विस्फाेटन कसले र किन गराएको भन्ने आफू अनभिज्ञ रहेको गाउँपालिका प्रमुख थापाले बताए । अहिलेसम्म कुनै समूह, व्यक्ति, संस्थाबाट कसैले कुनै किसिमको चन्दा, धाम्की केही नदिएको उनले बताए । गाउँपालिकाले शनिबारदेखि करारमा कर्मचारी(डाक्टर, स्टाफनर्स, अहेव, अनमीलगायत) नियुक्तीकालागि परीक्षा लिन सुरु गरेको थियो । उदयपुरका–८ स्थानीय तहमध्ये ताप्ली गाउँपालिका सबैभन्दा विकट मानिन्छ । सदरमुकाम गाईघाट पुग्न ताप्ली गाउँपालिका केन्द्र रुपाटार पुग्न सवारी साधनमा १२ घण्टाभन्दा बढी समय लाग्ने गर्दछ ।

प्रकाशित : मंसिर ७, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?