२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोनाले छठ व्रतालुको सोच बदलियो

छठ पर्व
जीतेन्द्र साह

विराटनगर — नदी, खोला एवं नहर किनारमा ठाउँ अभाव हुन थालेपछि केही व्रतालु परिवारले घरबाटै सूर्य उपासनको पर्व मनाउँदै आइरहेका छन् । तर कोरोना कहरले यसपालि धैरेले घर र वरपरको खाली ठाउँमा कृत्रिम पोखरी खनेर अर्घ्य दिँदै छठ विधि पूरा गरे । 

कोरोनाले छठ व्रतालुको सोच बदलियो

‘यो हर्षोल्लास गर्ने बेला होइन भन्ने वास्तविकता राम्ररी बुझेका थियौं,’ विराटनगर तीनटोलियाका युवा पवन गुप्ताले भने,‘पूजालाई परिवारजनमै सीमित राखौं भनेर यस पटक छतमा सानो पोखरी बनायौं ।’ विज्ञान संकायमा १२ कक्षामा अध्ययनरत उनी आफ्नो परिवारकै सबैभन्दा युवा सदस्य हुन् । धर्म–सँस्कृतिमा रुची राख्छन् ।

गुप्ताको हजुरआमा पछि आमाले छठ व्रतलाई निरन्तरता दिइहेकी छन् । तीन वर्ष अघिसम्म यो परिवारले घरदेखि थोरै टाढाको स्थानीय चर्चित सिंघिया खोलामा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन्थे ।

वर्षेनी व्रतालुको बढ्दो भीडले उक्त खोला किनारमा पूजा गर्न समेत गर्न कठिन हुने गरी ठाउँ साँघुरो हुन थालेपछि गुप्ता परिवारले तीन वर्षदेखि घरको बारीमा पोखरी बनाएर छठ गरिरहेका थिए । परिवारजनका अनुसार घाटमा भीडले व्रतालुलाई लुगा फेर्न समेत कठिन हुन्छ । लुगा फेर्नलाई टेन्टले घेरेर बनाइको ठाउँमा उच्छृंखल जमातले पटका पडकाउने हुनाले व्रतालुलाई असहज हुने गरेको गुप्ता परिवारले बताए ।

‘यिनै कारणहरुले अनुभवका लागि घरमै गरौं भनेर सुरु गर्यौं, राम्रे भयो,’गुप्ताले भने,‘बारीमा गर्दा बाह्य मान्छे पनि आउने सम्भावना रहन्छ, यस पटक छतमा इँटाको सानो पोखरी बनाएर परिवार मात्र भेला भएर गर्यौं ।’ उनको वरिपरिका तीन/चार छिमेकीले पनि यस पटक छतमै पूजा गरे । कोभिड–१९ संक्रमण बढिरहेको हुनाले स्वत: स्फूर्त रुपमा र जिल्ला प्रशासन एवं स्थानीय निकायको आग्रह अनुरुप यस पटक अन्य सहरिया व्रतालुहरुले समेत घरआँगनबाटै छठको आराधना गरे ।

यसपालि आँगनमा पानी भरिएको आरी/ड्रमबाट, बारी, छत घर छेउको खाली जग्गामा कृत्रिम जलासय बनाइ पूजा गरेका दृश्यहरु व्रतालु परिवारजनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ‘यसरी भयो माताको सेवा, अर्को वर्ष पनि खोला खोजिदैँन,’विराटनगरकी व्रतालु अमृता गौतमले फेसबुकमा लेखेकी छन् । उनको पोस्टमा पनि साँघुरिंदै गएको खोला किनार र बढ्दो प्रदूषणले घरमै छठ मान्नु सुरक्षित भएको भावना झल्किन्छ ।

आमाले घरबाटै सूर्य उपासना गरिरहेको तस्बिर विराटनगरका चिकित्सक दम्पति डा.राजीव शाह र डा. संज्ञा ज्ञवालीले पोस्ट गरेका छन् । मानव स्वास्थ्यलाई प्राथमिकतामा राखेर चाडवाड मनाउनु पर्ने उक्त तस्बिरले सन्देश दिइरहेको छ । स्थानीय केशलिया, सिघिंया खोला, नहर र पोखरीमा अघिल्ला वर्षहरु जस्तै भक्तजन तथा दर्शनार्थीको उपस्थिति नदेखिएको स्थानीयले बताए ।

‘समय अनुरुप छठ पुजा गर्ने तरिका एवं थलोमा परिवर्तन जरुरी थियो, कोरोना कहरले राम्रो पाठ सिकाएर गयो,’विराटनर बुधचोक बस्ने शिक्षक ओम शंकर साहले बताए । प्रदूषित खोलानाला, लाउड स्पिकरको चर्को स्वर, जथाभावी पड्काइने पटका र बाटो काट्न समेत कठिन हुने व्रतालु एवं आगन्तुकको घुइँचो बीच असुरक्षित ढंगले पूजा गर्नु अविवेकशील सोच भएको उनले बताए । ‘सोचमा परिवर्तन आवश्यक थियो जुन कोरोनाले सम्भव गरायो,’शिक्षक साहले भने ।

विराटनगरमा मात्र नभएर काठमाडौंमा समेत कोरोना कहरले गर्दा धेरै परिवारले घरदैलोको परिधि भित्र छठ सम्पन्न गरेको फोटो पत्रकार विकास रौनियारले बताए । पुर्खौंदेखि विष्णुमती किनारको टंकेश्वर घाटमा छठ मनाउने गरेका उनको परिवारले सहयोगी छिमेकीहरु श्रेष्ठ र शाक्य परिवारसहित कालीमाटीस्थित निवासमै सम्पूर्ण विधि पुरा गरे ।

‘घरको इनार अगाडि सपरिवार पूजा गर्यौं,’रौनियारले भने,‘अब अर्को वर्षदेखि पनि घरबाटै गर्ने कुरा भएको छ ।’ समग्रमा यस पटकको छठ अदभुत भएको र मानव स्वास्थ्यको सुरक्षाको दृष्टिकोणले आ–आफ्नै घरबाट आराधना गर्नु उत्तम हुने सन्देश दिएर गएको उनले बताए । घाटभन्दा घर र वरिपरि सानो समूहमा मनाउनु सबै किसिमले सुरक्षित भएको अधिकांश व्तालु परिवारको भनाइ छ ।

प्रकाशित : मंसिर ६, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?