१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पटकाले जोखिममा बालबालिका

‘विस्फोटपछि निस्कने रसायनले श्वास–प्रश्वास बढाउने हुनाले पहिलेदेखि दमको रोग भएकाहरू पनि पटाकाबाट टाढै बस्नु राम्रो हो ।’
जितेन्द्र साह

विराटनगर — मुख्य चाडबाडको आगमनसँगै पटका पड्काउन सुरु हुन्छ । तर यही पटकाका कारण बर्सेनि थुप्रै बालबालिका अस्पताल भर्ना हुने गरेका छन् ।

पटकाले जोखिममा बालबालिका

सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालको आकस्मिक कक्षमा २०७६ मा चाडबाडका बेला उपचारका लागि आएका ७ सय ३ जनामा करिब ६० प्रतिशत बालबालिका थिए । अधिकांशलाई पटका बाल्ने एवं खेल्ने क्रममा आँखामा गम्भीर चोटपटक लागेको थियो । यीमध्ये ६ जनाको आँखाको शल्यक्रिया तथा २६ जनाको आँखाको नानी ‘रिपेयर’ गर्नुपरेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए ।

‘कोरोना कहरले गर्दा यसपटक यस्ता घटना नहुने आशा गरेका थियौं तर त्यस्तो बिल्कुलै देखिएन,’ उनले भने, ‘दसैं सकिएलगत्तै बिहानदेखि मध्यरातिसम्म पडकाइरहेको सुनिन्छ, दैनिक दुई/तीन जना आँखामा चोट लागेर अस्पताल आउन थालेका छन् ।’

यस वर्षको दसैंदेखि लक्ष्मी पूजासम्म आकस्मिक कक्षमा ९९ जनाले सेवा लिएकोमा ३ जनाको आँखामा जटिल समस्या देखिएको अस्पतालले जनाएको छ । ‘तराई–मधेसमा दसैंदेखि नै पटका पड्काइन्छ, आँखामा क्षति पुग्ने मुख्य कारण यही नै हो,’ पृथुले भने, ‘सरसफाइलगायतका काममा आँखामा चोट लाग्नु र टीकाको अक्षताको कण आँखामा खस्नु पनि अर्को कारण हो ।’

पटकाले बालबालिकामा विशेष गरी आँखा पोल्ने, धमिलो देख्ने, रातो हुने र सुक्खा हुनेजस्ता समस्या उत्पन्न हुने गरेको उक्त अस्पतालका बालनेत्र रोग विशेषज्ञ डा. पवन श्रेष्ठले बताए । ‘कहिलेकाहीँ चोट लागेर आँखाको ज्योति गुम्न सक्ने खतरा हुन्छ,’ उनले भने, ‘बालापनमा भएको यस्तो समस्याको असरले कहिलेकाहीँ उमेर बढेसँगै मोतियाविन्दु वा जलविन्दु हुन सक्छ ।’ श्रेष्ठका अनुसार दीपावली तथा छठको तयारीसँगै अहिले पनि आँखाका बिरामी आउन सुरु भइसकेको छ । ‘एक त कोरोना संक्रमणको समय छ, त्यसमाथि भिडभाड गर्नु तथा पटका पड्काउनु भनेको ठूलो समस्या निम्त्याउनु हो,’ उनले भने ।

सुरक्षित भएर चाडबाड मनाउनु नै सबैभन्दा उत्तम रहेको रानीस्थित विराटनगर आँखा अस्पतालका कार्यक्रम संयोजक सुधीर ठाकुरले बताए । ‘स्वास्थ्यको सुरक्षा ठूलो कि पर्वको रमझम ?,’ उनले भने, ‘धर्मशास्त्रले पनि शरीर र स्वास्थ्यको ख्याल राखेर मात्र चाडबाड मनाउन भनेको छ, झन् यो त महामारीको बेला हो ।’

चाडबाडअगावै यसपालि सीमाक्षेत्रमा लाखौं रुपैयाँको पटका बरामद गरिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । ‘तीमध्ये धेरै परिमाणमा समातिएकाहरूलाई विस्फोटक पदार्थ ऐनअन्तर्गत समेत कारबाही गरिएको छ,’ उनले भने । तिहार र छठमा संयम अपनाउन नागरिक समाजसँग आग्रह गरिरहेको उनले बताए । ‘यो सामान्य बेला होइन भनेर सबैले मनन गर्नुको विकल्प नै छैन,’ कार्कीले भने । पटका पड्काएर सामाजिक शान्तिमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मोरङका विभिन्न स्थानबाट शनिबार ४१ जनालाई पक्राउ गरेको छ ।

पटकाले शरीरका विभिन्न भाग जलेर, बान्ता भएर र सास फेर्न कठिन भएर बर्सेनि औसतमा ६ सय जना आकस्मिक कक्षमा आइपुग्नेमा अधिकांश बालबालिका हुने गरेको विराटनगरस्थित कोसी अस्पतालका डा. पूरण शाहले बताए । ‘विस्फोटपछि निस्कने रसायनले श्वास–प्रश्वास बढाउने हुनाले पहिलेदेखि दमका रोगी भएकाहरू पटाकाबाट टाढा बस्नु राम्रो हो,’ उनले भने ।

सकेसम्म अस्पताल जाने अवस्था आउनै नदिनेतर्फ सचेत रहनुपर्नेमा शाहले जोड दिए । ‘कतिपय घटनामा पटकाले अनुहार बिग्रने गरी गहिरो घाउ हुन्छ,’ उनले भने, ‘शरीरमा कहिल्यै नमेटिने दाग बस्छ, ठूलालाई भन्दा बालबालिकालाई मानसिक रूपले असर पार्छ ।’ बर्सेनि दीपावली र छठमा पटकाले जलेका तीनदेखि ५ जनालाई प्लास्टिक सर्जरीका लागि काठमाडौंस्थित वीर अस्पताल रिफर गरिँदै आएको शाहले बताए ।

अमेरिकाको आँखारोगसम्बन्धी एकेडेमी (एएओ) का अनुसार झिरझिरे एवं पटका बाल्ने होडमा बर्सेनि धेरै बालबालिका घाइते हुन्छन् । पटकामा प्रयोग गरिने रसायनमा धातुलाई समेत गलाउने क्षमता हुने उक्त एकेडेमीले जनाएको छ । ‘जल्ने क्रममा पग्लेर आँखामा खस्दा, कसैले फाल्दा र पटकामा भएका रसायनले आँखामा क्षति पुग्छ,’ एकेडेमीको रिपोर्टमा उल्लेख छ ।

एकेडेमीका अनुसार आकस्मिक कक्षमा बर्सेनि आइपुग्ने बिरामीमध्ये औसतमा १० हजार जना पटकाजन्य दुर्घटनासम्बन्धी हुन्छन् । ‘यसमा नियमित लगाउने चस्मा र सन ग्लासले पनि सुरक्षा गर्दैन, सेफ्टी ग्लास लगाउनुपर्छ, सामान्य चस्मा फुटेर वा टुक्रिएर आँखालाई झनै नोक्सानी पुर्‍याउँछ,’ रिपोर्टमा उल्लेख छ ।

एकेडेमीका अनुसार अभिभावकको निगरानी नहुनु, सुरक्षा–सावधानी नअपनाइनु र पटका बाल्दा पर्याप्त दुरी नराख्नु आँखामा क्षति पुग्ने मुख्य कारण हुन् । ‘दुर्घटना भइहालेमा आत्तिन हुन्न, आँखामा कुनै पनि प्रकारको दबाब दिन हुन्न,’ एकेडेमीले भनेको छ, ‘यसो गर्दा भित्री भागमा झन् चोट पुग्न सक्छ ।’ एकेडेमीका अनुसार आँखामा पटकाको खरानी परे तुरुन्तै सफा पानीले सफा गर्नुपर्छ, घाइतेलाई चिकित्सककोमा लगिहाल्नुपर्छ ।

प्रकाशित : कार्तिक ३०, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?