कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगको उत्पादन घट्यो

विनोद भण्डारी

विराटनगर — लकडाउन हटेको तीन महिना बित्दा पनि सुनसरी मोरङ–औद्योगिक करिडोरका उद्योगले उत्पादन बढाउन सकेका छैनन् । माग नै नआएको भन्दै उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगको उत्पादन घट्यो

आरती स्ट्रिप्स उद्योगले जस्तापाता वार्षिक १ लाख १० हजार टन, रंगीन पाता वार्षिक ६० हजार टन र कालोपाइप वार्षिक ५० हजार टन उत्पादन गर्थ्यो । अहिले तीनवटै उत्पादन बढीमा ४० प्रतिशत मात्र भएको उद्योगका प्रशासन प्रमुख दिवस नेपालले बताए ।

उद्योगले सामान्य अवस्थामा फलामे पाइप दैनिक ६ हजार ५ सय टन उत्पादन गर्दै आएको थियो । नेपालले भने, ‘त्यसको उत्पादन अहिले ठप्प गरेर पुरानो उत्पादन बिक्री गर्दै छ । बजारमा माग नै छैन । माग भएर बजार पुगेका सामानको पनि रकम फिर्ता आउँदैन ।’

सामान्य अवस्थामा दैनिक ७५ टन धागो उत्पादन गर्दै आएको सुनसरी, खनारको रिलायन्स स्पिनिङ उद्योगको पनि उत्पादन आधा घटेको छ । कोरोनाका कारण आवश्यकताअनुसार मजदुरसमेत पाइँदैनन् । अहिले करिडोरका खाद्यान्न, मास्क र सेनिटाइजर उद्योगले मात्र पूर्ण क्षमतामा सामान उत्पादन गर्दै आएको र अन्य उद्योगको उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको भनाइ छ । ‘खाद्यान्न, सेनिटाइजर र मास्कबाहेकका सामानको बजारमा माग नै छैन,’ उनले भने, ‘त्यसैले अन्य उद्योगका सञ्चालकले औद्योगिक कच्चा पदार्थ आयात र उत्पादन दुवै घटाए ।’

लकडाउन हटे पनि औद्योगिक क्षेत्रको अवस्था सुधार हुन नसकेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको बुझाइ छ । उनका अनुसार बजारमा उपभोग्य वस्तुको माग नै नहुँदा लगानी गर्ने वातावरण छैन । ‘अहिले माग र आपूर्तिबीचको सम्बन्ध नै बिग्रिएको छ,’ मुन्दडाले भने, ‘बजारमा सामानको माग नबढेसम्म उद्योगले उत्पादन बढाउने अवस्था नै छैन ।’

उद्योग पूर्ण क्षमतामा नचल्दा विराटनगर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ । औद्योगिक कच्चा पदार्थको आयात आधा घटेको छ । ‘यो भन्सारको राजस्व औद्योगिक कच्चा पदार्थ आयातमा निर्भर छ,’ भन्सार प्रमुख शिव भण्डारीले भने, ‘कच्चा पदार्थ आयात नै घटेपछि राजस्व असुली प्रभावित हुने नै भयो ।’

भन्सारले असोजमा ४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा ७० दशमलव २५ प्रतिशत अर्थात ३ अर्ब २२ करोड ८२ लाख मात्र असुली गरेको छ । सामान्य अवस्थामा यो भन्सारले दैनिक सरदर १५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?