१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

टेम्के भ्युटावर शिलान्यासले मुख्यमन्त्री राई विवादमा

‘भ्युटावर बनाउनुको अर्थ छैन’
डम्बरसिं राई

खोटाङ — खोटाङ र भोजपुरको सिमानमा पर्ने टेम्के भ्युटावर शिलान्यासपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवादमा फसेका छन् । खोटाङ र भोजपुरका सांसद तथा नेताहरुलाई जानकारी नगराई टेम्केडाडाँमा सोमबार भ्युटावर शिलन्यास गरेको भन्दै राई विवादमा मुछिएका हुन् ।

टेम्के भ्युटावर शिलान्यासले मुख्यमन्त्री राई विवादमा

मुख्यमन्त्री राईले भ्युटावरको शिलन्यासमा दुईवटै जिल्लाका सांसदहरुलाई थाहै नदिई कार्यक्रम गरेकाले दु:ख लागेको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले गुनासो गरे । खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई पनि जिल्लामै रहेको बेला उनीहरुको अनुपस्थितिमै एकलौटी टावर शिलन्यास गरिएको खड्काले बताए ।

‘खोटाङको साकेला र भोजपुरको टेम्के मैयु गाउँपालिकाको बीचमा पर्छ टेम्के’ खड्काले भने ‘सिमानामै निर्माण हुने भ्युटावर शिलान्यासमा थाहै नदिनु राम्रो होइन ।’

यसबाहेक भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराती, प्रदेशसभा सदस्य राजेन्द्र राई पनि जिल्लामै रहेको बेला सुटुक्क कार्यक्रम गर्नु राम्रो नभएको खड्काको भनाई छ । भोजपुरकी प्रदेशसभा सदस्य सौभाग्यवती राई, खोटाङका प्रदेशसभा सदस्य राजन राई र उषाकला राई भने जिल्ला बाहिर छन् ।

खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले भने आफूलाई निम्तो आएको तर समयका कारण जान नसकेको बताए । ‘अघिल्लो दिन विहान ११ बजेको कार्यक्रम भनियो र भोलिपल्ट आठै बजे गर्ने भनेपछि जान सकिएन’ भट्टराईले भने ‘फेरि कार्यक्रमस्थल पनि भोजपुरको अन्नपूर्णमा हुने भएपछि जान नसकिएको हो ।’

प्रदेशसभा सदस्य रामकुमार राईले दुई तले टावर बनाउनुको अर्थ नरहेको बताए । ‘पहिले नै ३३ तले भ्युटावरको योजना बनाइएको थियो’ राईले भने ‘दुई तले भ्युटावरको अथै छैन ।’

तत्कालीन नेकपा माओवादी केन्द्रका गोपाल किराती संस्कृतिमन्त्री भएको बेला ३३ तलाको ३ सय ६५ मिटर उचाईको किरात गणतान्त्रिक भ्युटावर बनाउँने योजना बनेको राईले सुनाए । उक्त योजनालाई सम्पन्न गर्न पटक–पटक पहल गर्दा समेत बेवास्ता गरिएको र त्यसलाई तुहाउनका लागि यो दुई तले भ्युटावर शिलान्यास गरिएको प्रदेशसभा सदस्य राईले बताए ।

खोटाङको साकेला गाउँपालिका र भोजपुरको टेम्के मैयु गाउँपालिकाको बीचमा पर्ने टेम्केमा भ्युटावर बनाउँन दुबै गाउँपालिकाको आयोजनामा कार्यक्रम गरेको भए उपयुक्त हुने खोटाङका प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । यसो गर्दा भ्युटावरप्रतिको अपन्वत्व पनि हुने भट्टराईले सुनाए ।

उक्त भ्युटावर १३ करोड ६२ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण हुने छ । शहरी विकास तथा भवन कार्यालय धनकुटाले बोलपत्र आह्वान गरी आर एण्ड सी–कुन्सालिङ जेभी कम्पनीले ठेक्का लिएको हो । उक्त कम्पनीले २०८२ जेठ २६ गतेभित्र सक्ने गरी २०७७ जेठ २७ गते संझौता गरेको छ ।

प्रकाशित : कार्तिक २५, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?