प्रधानमन्त्रीकै गृहनगर अझै सडक मानवमुक्त भएन

मानसिक सन्तुलन गुमाएकाहरुलाई खाना खुवाउँदै युवा
कान्तिपुर संवाददाता

दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणहरुमा देशभरका सडकहरु 'सडक मानवमुक्त' बनेको विषय कहिल्यै छुटाउँदैनन् । तर, उनै प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमक र आसपासका सहरहरु उर्लाबारी-पथरी क्षेत्रमा सडक मानवहरुको उद्धार हुन सकेको छैन ।

प्रधानमन्त्रीकै गृहनगर अझै सडक मानवमुक्त भएन

प्रधानमन्त्री ओलीकै गृहनगरमा एक दर्जनभन्दा बढी सडक मानव छन् । अधिकांश मानसिक सन्तुलन गुमाएकाहरु छन् । उपचार नपाएर सडकमा हिँडिरहेकाहरु धेरै नै छन् । विभिन्न हाउभाउ गर्नेदेखि लिएर जथभावी फोहोर पारिदिन्छन् ।

यस्ता मानिसहरुलाई चासो कसैले दिँदैनन् । कहाँ जान्छन् के खान्छन् कसैलाई चासो हुँदैन ।सडकमा पुगेका यस्ता मानिसहरुका लागि भने स्थानीय युवाले खाना अभियान सञ्चालन गरेका छन् । दमकदेखि पथरी क्षेत्रसम्म भेटिने सडक मानवहरुका लागि उर्लाबारी घर भई हाल कपनमा बाल गृह सञ्चालन गरिरहेका खेमराज पुरीले खाना अभियान सुरु गरेका हुन् ।

'माग्नेहरुले त मागेर खाइ हाल्छन् । उनीहरुलाई के खानुपर्छे थाहा हुन्छ ,' पुरीले भने,'मानसिक सन्तुलन गुमाएकाहरुलाई न त पैसा भन्ने थाहा हुन्छ न त खाना भन्ने नै । के खानुपर्छे भन्ने उनीहरुलाई थाहा हुँदैन । त्यही भएर मैले यो अभियान सुरु गरेको हुँ । '

घरमै बनाएको खाना लगाएर उनीसहित उनका सहयोगी भाइ राजु सिवा दैनिक रुपमा बिहान ११ बजेदेखि मानसिक सन्तुलन गुमाएकाहरुलाई खाना खुवाउँदै हिँडिरहेका छन् ।

'घाँस खाने वन्यजन्तुलाई त घाँस मात्रै खानुपर्छै अरु हुँदैन भन्ने थाहा हुन्छ तर मानसिक सन्तुलन गुमाएकाहरुलाई त्यति नि थाहा हुँदैन । यस्ता मानिसहरुलाई माटो पनि खाइरहेको देखेको छु,' पुरीले भने । पुरीले त्यस्ता मानिसहरुलाई पौष्टिक तत्व धेरै भएका खानाहरु दिन्छन् । 'मासु, अण्डा, भात, चाउमिन लगायत एक दिनभरीलाई पुग्‍ने डाइट मिलाएर दिन्छु,' उनले भने ।

मानसिक सन्तुलन गुमाएकाहरुलाई खाना खुवाउनेमा पुरीका सहयोगी राजु ४ वर्ष सडक बालक भएर हिँडेका युवा हुन् । उनलाई पनि पुरीले उद्धार गरेका थिए । काठमाडौंमा अध्ययनरत १७ वर्षीय राजुले आफूले यस्ता व्यक्तिहरुलाई सहयोग गर्न पाउनु खुसी लागेको बताए ।

यस्ता मानिसहरुलाई कसैले पनि चासो नदिने भएकाले आफूले मानवताको नाताले यो अभियानको थालनी गरेको उनले सुनाए । खाना दिन जाँदा केही व्यक्तिहरु आक्रामक हुने,कुट्न खोज्ने जस्ता व्यवहार देखाएपनि सबैभन्दा पहिला यिनीहरु 'मानव जाति' भएको पुरीले बताए । सबैभन्दा ठूलो धर्म मानवता भएको उल्लेख गर्दै यस्ता मानिसहरुको उद्धार गर्न आग्रह गरेका छन् ।

यी मानिसहरुको उद्धार गर्ने सम्बन्धित पालिकाहरुको जिम्मेवारी भएप नि पन्छिने गरेका छन् ।

प्रधानमन्त्री ओलीले सडक मानवमुक्त भएको दाबी ग रेपनि उनकै गृहनगरका यस्ता मानिसहरुको उद्धार हुन सकेको छैन । दमकमा एक दर्जन हारहारीमा रहेका यस्ता मानिसहरुमा युवादेखि वृद्ध उमेरसम्मका रहेका छन् । सडक बालबालिकाहरुको पनि उद्धार हुन सकिरहेको छैन ।

प्रकाशित : कार्तिक ८, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?