अभिभावकविहीन शरणार्थी बालबालिकालाई सहयोग

अर्जुन राजवंशी

दमक — झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा रहेका अभिभावक र घरबारविहीन ३२ जना बालबालिकालाई नगदसहित नयाँ लुगा वितरण गरिएको छ ।

महामारीकैबीच दसैं मनाउनुपर्ने भएकोले बेलडाँगी शिविरमा रहेको फ्रेन्स क्लबको पहलमा शनिबार नगदसहित नयाँ लुगा वितरण गरिएको हो ।

शरणार्थी शिविर बेलडाँगीका २१, पथरीका ११ र शिविर आसपासका ६ जना गरी ३८ जना अभिभावकविहीन बालबालिकालाई दसैंको लुगा र नगद वितरण गरिएको क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए । बालबालिकालाई नयाँ लुगा, जुत्ता र जनही नगद १० हजार रुपैयाँका दरले सहयोग वितरण गरेको राईले बताए ।

उक्त सहयोग अमेरिका, अष्ट्रेलियालगायत पश्चिमा मुलुकमा पुनर्वास भएका भुटानी शरणार्थीबाट संकलन गरेको राईले बताए । ‘अभिभावकविहीन बालबालिकाको अवस्था निकै दयनीय छ । सबैको घरमा दसैंको रमझम सुरु भइसक्दा उनीहरुलाई भने दुई छाक खानाको समस्या छ । त्यसैले पुनर्वास भएका शरणार्थीसँग सहयोग मागेर नयाँ लुगा, जुत्ता र नगद वितरण गरेका हौं,’ अध्यक्ष राईले भने ।

अभिभावकविहीन बालबालिकाहरलाई शिविरभित्रकै शरणार्थीहरुले संरक्षण दिँदै आएका छन् । भुटानी शरणार्थीलाई दातृ निकायहरुले सबैखाले सहयोग कटौती गरिसकेको छ । लामो बन्दाबन्दी र कोरोना कहरका कारण शरणार्थी शिविरमा पनि खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए ।

प्रकाशित : कार्तिक ८, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?