अस्पतालहरुले भर्ना नलिएपछि आइसोलेसन सेन्टर फर्काइएका युवकको मृत्यु
धरान — अस्पतालहरुले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसन सेन्टरमा फर्केर आएका ३६ वर्षीय एक युवकको शनिबार बिहान मृत्यु भएको छ । मृतक कोरोना संक्रमित सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङ्गेका हुन् ।
दुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । तर कोसीले भर्ना लिन नमानेपछि नोबेल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि भर्ना गर्न अनुरोध गरे पनि भर्ना नलिएको चतरास्थित आइसोलेसनका इन्चार्ज प्रमोद यादवले बताए ।
उनका अनुसार नोबेलले आईसीयू र भेन्टिलेटर खाली नभएको बताउँदै भर्ना नलिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने प्रयास गरिएको थियो । तर प्रतिष्ठानमा पनि आईसीयू र भेन्टिलेटर अभाव भएपछि फर्काएर चतराको आइसोलेसन सेन्टरमा राखिएको थियो ।
यादवले भने, 'यहाँको आइसोलेसनमा राति ११ बजेतिर ल्याइपुर्याएर अक्सिजन सिलिन्डरमार्फत अक्सिजन दिँदै राखियो । तर निमोनिया पनि भएकाले त्यस्तो सिलिन्डरको अक्सिजनले मात्र भएन । थप उपचार गर्न सक्ने यो आइसोलेसनमा नभएपछि शनिबार बिहान १० बजेर ३० मिनेटमा उनको मृत्यु भयो ।'
प्रकाशित : कार्तिक ८, २०७७ १४:१९