१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपचारमा सबथोक सकियो तर हिम्मत हारेका छैनन्

‘डक्टरले पूरा निको हुन डेढदेखि दुई वर्ष लाग्ने भनिरहेका छन्,’सन्देश भन्छन्,‘बाआमाले घरजग्गा धितोमा राखेका छन्, सारा परिवारको कमाइ मेरै उपचारमा खर्च भइरहेको छ ।’
जितेन्द्र साह

विराटनगर — चार छोराछोरीमध्ये सन्देश राय सबैभन्दा कान्छा हुन् । उनलाई धेरै पढ्ने मन थियो तर कमजोर आर्थिक अवस्थाका कारणले सकेनन् । कक्षा–७ पछि उनले पढाइ छाडेर परिवारजनसँगै निर्माण श्रमिकको काम गर्न थाले । परिवारलाई सघाउन पाएकोमा सन्देश सन्तुष्ट थिए ।

उपचारमा सबथोक सकियो तर हिम्मत हारेका छैनन्

तर विराटनगर महानगरपालिका–८, बलुवाहीका यी १९ वर्षीय युवकको जीवनमा गत फागुन ८ मा आएको महासंकटले सबथोक तहसनहस पार्‍याृ । छतमा ग्रिल ठोकिरहेको बेला सन्देश विराटनगर बखरी चोकको एउटा बन्दै गरेको घरको तेस्रो तल्लाबाट सोझै भुइँमा खसे र अचेत भए ।

घर साहु एवं सहयोगी श्रमिकहरुले हरेक प्रयत्न गर्दा समेत एक घण्टासम्म उनको नाक मुखबाट रगत बग्न बन्द भएन । दुर्घटनाको सूचना पाएलगतै पुगेका निर्माण ठेकेदारले एम्बुलेन्स बोलाएर उनलाई नजिकैको एक निजी अस्पताल पुर्‍याए ।

झन्डै तीन महिनाको उपचारपछि जेठमा सन्देश अस्पतालबाट घर त फर्के तर वैशाखीको सहारामा । सन्देशको दाहिने खुट्टाको तिघ्रा र देब्रे हत्केलामा स्टिल लागेको छ । घातक चोट लागेर पुनर्जीवन पाएको हुनाले कति दिनमा निको हुन्छन् भन्न नसकिने अवस्था रहेको चिकित्सकले भने पनि सन्देश र उनको परिवारजनले हिम्मत हारेका छैनन् ।

‘टाउकोको पछाडिपट्टि चोट लागेर रगत जमेको हुनाले निको हुन समय लाग्ने डक्टरले भनेका छन्,’ पिता ५५ वर्षीय रामचन्द्र रायले भने, ‘तर दुर्घटनाको आठ महिनामै सन्देश मजाले हाँस्न, बोल्न र खान थालेको देखेर खुसी छौं ।’

सन्देशकी आमा ४५ वर्षीया मञ्जुदेवी ज्यालादारी मजदुरी गर्छिन् । बुबा रामचन्द्र र जेठो दाइ २९ वर्षीय रविन्द्रले घर ढलान सम्बन्धी काम गर्छन् भने माहिलो २२ वर्षीय भरतकुमार एक प्लास्टिक कारखानाका मजदुर हुन् । बाँच्ने सम्भावना नरहेको हुनाले चिकित्सकले समेत छोरालाई घर लग्न भनेको पिता रायले बिर्सेका छैनन् ।

‘सुरुमा बाँच्दैन भन्दै डक्टरले छोरालाई घर लैजान भनेका थिए, हात जोडेर निकै आग्रह गरेपछि उपचारका लागि तयार भए,’उनले भने, ‘छोरो बाँच्नु भनेकै तपाईंहरुका लागि सौभाग्य हो भन्दै चिकित्सकले बोलेको सम्झिरहेको छु ।’ यस्तो गम्भीर चोट लागेका बिरामीको मानसिक सन्तुलन बिग्रन सक्ने र निको हुनमा एक/दुई वर्ष लाग्ने चिकित्सकले भनेको रायले बताए ।

‘तर म र परिवारजन हरेस खाएका छैनौं,’उनले भने,‘खानै नपुग्ने अवस्था भए पनि सारा परिवारले पेट काटेर छोराको उपचार गराउँदैछौं, अनि सन्देशको आत्मबल देखेर हाम्रो हिम्मत बढेको छ ।’ पहिलेजस्तै सामान्य अवस्थामा छोरा फर्कनेमा विश्वस्त रहेको रायले बताए ।

परिवारजनका अनुसार अस्पताल र औषधिमा गरी उपचारमा करिब १३ लाख ५० हजार जति खर्च भइसकेको छ । साहु र ठेकेदारले सक्दो सहयोग गरेको परिवारजनले बताए । तर, थप उपचार, खुराक र नियमित मासिक ३ हजार ८ सय ५० रुपैयाँको औषधि खुवाउनु पर्ने हुनाले बैंक, वित्तिय संस्था, आफन्त तथा साथीभाइबाट करिब ६ लाख रुपैयाँ ऋण लिएको पिता रायले बताए ।

‘चिकित्सकले भने अनुसार सन्देशलाई साउनमा पुन: देखाउन लगेको थिएँ, ६/६ महिनामा ल्याउन भनेका छन्,’उनले भने । रायको अनुसार करिब डेढ वर्षपछि स्टिल निकाल्ने बेलामा थप डेढ/दुई लाख रुपैयाँ खर्च हुन्छ । ‘एक छाक भोकै बसेर पनि यति रकम त जसरी नि जम्मा गर्छौं,’उनले भने ।

प्रतिभाशाली भएपनि घरको बिग्रँदो आर्थिक अवस्थाले गर्दा सन्देशलाई पढाउन नसकेको उनले बताए । ‘पढाउने मन त थियो, बीचमा आफै निकै बिरामी परेर दुई पटक मुस्किलले बाँचेको हुँ,’पिता रायले भने,‘मेरो उपचार खर्च जुटाउन कान्छो सन्देश काम गर्न थाल्यो, आज छोरालाई बचाउन दिनरात काम गरिरहेको छु ।’ काम पाएमा राय मुलुकभर जहाँ पनि पुग्छन् ।

‘डक्टरले पूरा निको हुन डेढदेखि दुई वर्ष लाग्ने भनिरहेका छन्,’सन्देशले भने,‘बाआमाले घरजग्गा धित्तोमा राखेका छन्, सारा परिवारको कमाइ मेरै उपचारमा खर्च भइरहेको छ ।’ डक्टरले घरमा आराम गरेर बस्न भनेको हुनाले परिवारलाई सहयोग गर्न नपाउँदा पीडा महसुस हुने गरेको उनले बताए । सन्देशले भने,‘चाँडो निको हुन्छु भन्ने विश्वास छ, त्यसपछि घरपरिवारले लिएको सारा ऋण म चुक्ता गर्छु ।’

उपचार खर्च सकिएकाले राय परिवार सन्देशलाई लिएर चिन्तित छन् । ‘थप उपचारका लागि कहाँबाट रकम ल्याउने ? थाहा छैन,’आमा मञ्जुदेवी भन्छिन्,‘अब त ईश्वरकै भर छ ।’ सबैजना मिलेर भाइको औषधि र भोजनको बन्दोबस्ती गरिरहेको जेठा रविन्द्रले बताए । रविन्द्रमाथि दुई नाबालक छोराछोरीको पालनपोषणको समेत जिम्मेवारी छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?