छोरीलाई गोली हान्ने बुबा कारागार चलान- प्रदेश १ - कान्तिपुर समाचार

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

रासस

ओखलढुंगा — ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते भएकी बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन सुरु गरेका छन् । अहिलेसम्म १६ हजार २ सय ७५ रुपैयाँ सहयोग जुटाइएको वडाध्यक्ष सुनुवारले बताए ।

प्रकाशित : कार्तिक ७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा बेखर्ची चेपाङ

‘दसैंमा न लुगा किन्न सकियो, न चामल नै । कोरोना भन्छ, लकडाउन भन्छ, यो वर्ष काम पनि पाइएन । चाडबाडमा भोकै पर्ने भयौं ।’
आश गुरुङ

लमजुङ — गएको वर्ष मात्रै दाताले घर बनाइदिएका छन् । घर मात्रै बनेर भएन । काखमा छोरा लिएर बसेकी आरती चेपाङका दायाँबायाँ थप दुई छोरा र एक छोरी छन् । आङमा फाटेका लुगा छन् । पिँढीमा बसेका आरतीका श्रीमान् तिलकबहादुर धुलाम्मे देखिन्छन् ।


दसैं घरआँगनमै आइपुग्यो । उनीहरूले अझै केटाकेटी र आफ्ना लागि नयाँ लुगा फेर्न सकेका छैनन् । ‘घर नयाँ भएर मात्रै के भो र ! दसैंमा न लुगा किन्न सकियो, न चामल नै,’ तिलकबहादुरले गुनासो पोखे, ‘कोरोना भन्छ, लकडाउन भन्छ, यो वर्ष काम पनि पाइएन । चाडबाडमा भोकै पर्ने भयौं ।’ ऋण पनि कसैले नपत्याएको उनले सुनाए ।

बलबहादुर चेपाङका घरमा प्राय: मध्यान्हतिर खाना पाक्छ । एकछाके झैं गरी खानुपर्ने अवस्था आएको उनी दुखेसो पोख्छन् । ‘एक छाक खानलाई पनि पैंचो माग्नुपर्छ,’ उनले भने । गत वर्ष तीन महिना साहुकहाँ घाँस काटेर पाएको पारिश्रमिकबाट दसैं मनाएका थिए । यस वर्ष कोरोना महामारी र लकडाउनले गर्दा त्यही काम पनि नपाएको उनले गुनासो गरे । ‘आफ्नो खेतबारी छैन । साँझबिहान खान अरूकहाँ काम गर्नुपर्छ,’ उनले भने, ‘यो साल कोरोना भयो । लकडाउन भयो । काम पाएन । काम नपाएपछि खान पनि पाएन ।’ उनकी श्रीमती सानुमाया बिरामी छिन् । ‘रोगीले काम गर्ने कुरा भएन । पैसा नभएर राम्रोसँग उपचार पनि पाएन । अहिले त राम्रोरी भात खानै पाएको छैन,’ उनले भने ।

बेंसीसहर नगरपालिका–११ बरबोटस्थित चेपाङ गाउँका यी परिवार मात्रै होइन, अन्य १० घरपरिवार र दोर्दी गाउँपालिका–९ भीरकुनाका ४ घरपरिवारको पनि समस्या उही हो । बरबोटका राजु चेपाङले मीठोमसिनो खान नपाएर छोराछोरी रोइरहेको बताए । न राम्रो लुगा किनेर दिन सकेका छन्, न दसैंमा केही मीठो नै खुवाउन सकेका छन् । ‘गएका वर्षमा केही चामल र पैसा भए पनि दिन आउँथ्यो । कामबाट पनि अलिअलि कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले न काम पाइयो, न अलिअलि दिन नै कोही आए ।’

लमजुङको बेंसीसहर नगरपालिका–११ बरबोटस्थित चेपाङ गाउँमा नयाँ बनेको चेपाङको घर । तस्बिर : कान्तिपुर

चेपाङ बस्तीका सबैभन्दा धनी मानिने ६८ वर्षीय सुकमान चेपाङको परिवारलाई समेत वर्षभरि खान पुग्दैन । उनका अनुसार चेपाङ समुदाय अहिले पनि गिट्ठाभ्याकुर खाएर बाँच्नुपर्ने बाध्यता छ । गिट्ठाभ्याकुर पनि पाउन छाडिसकेको उनी बताउँछन् । ‘जग्गाजमिन नभएपछि यस्तै रहेछ । हामी अरूको काम गरेर खाने मान्छे पर्‍यौं । अब ज्यानले काम गर्न पनि सक्दैन । काम पनि पाइँदैन,’ उनले भने, ‘केटाकेटी कोही भोका छन्, कोही नांगा छन् । कोही झुत्रा लगाएका छन् । कोहीले अरूले फालेका र दिएका लगाएका छन् । कसलाई के भन्ने ?’

चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खानलाउनकै लागि ऋण काढ्नुपर्ने अवस्था छ । ‘हामीलाई चाडबाड आएको कुनै भान हुँदैन । अलिअलि कमाएको खाइन्थ्यो । अहिले काम पनि भएन, कमाइ पनि भएन,’ उनले भनिन् । ऋण पनि साहुले नपत्याउँदा चेपाङको चाडबाड निकै खल्लो भएको उनले बताइन् । ‘हामीलाई चाडबाड आएपछि सधैं यस्तै हुन्छ । अहिले झन् कोरोना र लकडाउनले गर्दा कसैलाई नपरेको समस्या हामीलाई परेको छ,’ उनले भनिन् ।

चेपाङ बस्तीका सबैको आर्थिक तथा शैक्षिक अवस्था कमजोर रहेको संघकी पूर्वअध्यक्ष अमृता चेपाङ बताउँछिन् । नजिकै ब्राह्मण र क्षत्री समुदाय बस्छन् । छिमेकमा बसाउने धानको भात पाके पनि चेपाङका घरमा साँझबिहान मकैकै च्याँख्ला पाक्न पनि गाह्रो छ । ‘हामी आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि छौं । गुजारा चलाउन ज्यालामजदुरी गर्नुपर्छ । अधियाँ प्रथाको खेतीबालीबाट चल्नुपर्छ । यसले गुजारा चलाउन मुस्किल छ,’ उनले भनिन् ।

प्रकाशित : कार्तिक ७, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×