कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खोटाङमा धार्मिक स्थलहरुमा भेला भएर पूजा पाठ गर्न रोक

डम्बरसिंह राई

खोटाङ — कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिक स्थलहरुमा पूजाआजा गर्न रोक लगाएको छ ।

दसैं–तिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हुँदा संक्रमणको जोखिम देखिएको भन्दै धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकिर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको सूचनामा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजाबाहेक भीडभाडका बीचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

यस्तै चाडपर्वका अवसरमा सामूहिक रूपमा भेला, जम्मा भई गरिने शुभकामना आदानप्रदान, चियापानजस्ता कार्य नगर्न, सामूहिकरूपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समूहमा खेलिने खेलकूद, खेलमैदानमा हुने प्रस्तुतिजस्ता कार्यक्रम नगर्न सूचित गरिएको छ ।

प्रशासनले दसैं, तिहार, छठजस्ता चाडबाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनबाहेकका यातायात सञ्चालन नगर्न, हिँडडुल र बजार बन्द गर्न उल्लेख गरिएको छ ।

यस्तै आवतजावत तथा हिँडडुल गर्दा सबै यात्रु तथा चालक, सहचालक एवं सवारीधनीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका बमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, ब्यूटी पार्लर हाललाई सञ्चालन नगर्न उल्लेख गरिएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?