१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बारीका पाटामा पहिरोपीडितको दसैं

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका–७ टोड्के गाउँका बुद्धिबहादुर विश्वकर्मालाई दसैंको रौनकले छोएको छैन । दसैंताका विगतमा घर पोत्ने र सरसफाइमा व्यस्त हुने उनी यसपालि बारीका पाटामा बारबेरमै अल्झिइरहेका छन् । अघिल्लो महिना अविरल वर्षाका कारण टोड्के गाउँका एक दर्जन घरमा क्षति पुगेपछि अधिकांश स्थानीय बुद्धिबहादुर जस्तै अवस्थामा छन् ।

बारीका पाटामा पहिरोपीडितको दसैं

धनकुटा नगरपालिकामा राहतका लागि पुगेका उनी विगतका वर्ष जस्तो गाउँमा दसैंको खुसी नभित्रिएको सुनाउँछन् । ‘घर भत्किएपछि बस्ने ठाउँ नै छैन,’ उनले भने, ‘दसैंमा मीठो खानु त परै जाओस्, राहतका लागि हात थाप्नुपर्ने अवस्था छ ।’ बारीका पाटामा यसपालिको दसैं बित्ने उनले दुखेसो पोखे । मायादेवी विश्वकर्माको पीडा पनि उस्तै छ । लगातारको झरीले भिजेर अझै पनि अस्वस्थ रहेकी उनको घर पहिरामा पर्‍यो । एकल महिला उनी पहिराले चिराचिरा परेका घरमा जोखिम मोलेर बस्न बाध्य छिन् ।

धनकुटा–४ का रवीन्द्र थापा मगर पनि घरविहीन छन् । अधिकांशले रेडक्रसले दिएको त्रिपालका भरमा ओत लागेर रात बिताउनुपरेको छ । धनकुटा–६ गोठगाउँका गणेश विश्वकर्मा, सेउलेका देवीन्द्र तामाङको अवस्था उस्तै छ । धनकुटा–८ को याक्ते गाउँ सिंगो रूपमा पहिराले क्षतविक्षत बनाएको छ । यहाँ २३ घर भत्किएको नगरपालिकाले जनाएको छ ।

अघिल्लो महिनाको वर्षाको असर यतिबेला पनि परिरहेको छ । सोमबार मात्र धनकुटा–४ जागरण टोलका वृषबहादुर विश्वकर्माको घर भत्किएको छ । धनकुटा–८ को याक्ते, ६ को फोक्लेन्डटापु टोल मात्रै होइन, कतिपय सिंगो बस्तीमै क्षति पुगेको छ । नगरप्रमुख चिन्तन तामाङले प्रारम्भिक चरणमा पीडितलाई राहत सामग्री वितरण गरेको बताए ।

धनकुटाका १ सय ९१ घरधुरी पहिराको चपेटामा छन् । धनकुटा नगरपालिकामा सबैभन्दा बढी १ सय १६, साँगुरीगढी गाउँपालिकामा ३८ र महालक्ष्मी नगरपालिकामा ३७ घर पहिराले भत्किएको तथ्यांक संकलनमा खटिएको संस्था पर्डेप नेपालका मीनप्रसाद सुवेदीले जानकारी दिए ।

यसैबीच, राहत सामग्री लिन धनकुटा नगरपालिकामा मंगलबार पहिरो प्रभावितको घुइँचो लागेको थियो । यूएनडीपीमार्फत पर्डेप नेपालले राहत वितरण गरेको हो । कोरोना महामारीको परवाह नगरी एक सयभन्दा बढी प्रभावित भेला भएका थिए । उनीहरूलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले बताए ।

प्रकाशित : कार्तिक ५, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?