बीपी प्रतिष्ठानमा उपचाररत थप तीन संक्रमितको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

बीपी प्रतिष्ठानमा उपचाररत थप तीन संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।

उनीहरु तीनै जनाको मृत्यु सोमबारै भए पनि प्रतिष्ठानको कोभिड अस्पतालले म‌ंगलबार बिहान मात्र सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसै गरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भए पनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएको थियो । कोरोना पुष्टि भएको तीन दिनपछि मात्र उनले कोभिड अस्पतालमा बेड पाएका थिए ।

यसै गरी मंगलबार धरानमा २ सय ८५ जना संक्रमित थपिएका छन् । तीन दिनअघि स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएका नमुना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

प्रकाशित : कार्तिक ४, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

भान डाइक लामै समय बाहिर

एजेन्सी

लिभरपुल — एभरटनविरुद्ध मर्सिसाइड डर्बीमा चोटग्रस्त भएका सेन्ट्रल ब्याक भर्जिल भान डाइक घुँडाको शल्यक्रियाबाट गुज्रिनुपर्ने भएको छ ।

यो लिभरपुलका लागि ठूलो धक्काका रूपमा अगाडि आएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियनले आइतबार डच खेलाडीलाई शल्यक्रिया आवश्यक भएको बताएको हो । गत दुई सिजन क्लबका लागि लगभग सबै खेल खेलेका भान डाइक अब यो सिजन लामै समय मैदानबाट बाहिर रहने डर स्थिति देखिएको छ ।

एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डले आफ्नो ‘बक्स’ डरलाग्दो फाउल गरेपछि खेलको सुरुमै भान डाइक घाइते भएका थिए । उनलाई सब्स्टिच्युट गरिएको थियो । यो घटनालाई लिएर लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो रोष देखाइसकेका छन् । क्लबले भनेको छ, ‘आइतबार एभरटनविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा चोटग्रस्त भर्जिल भान डाइकलाई घुँडाको शल्यक्रिया आवश्यक परेको छ । उनको घुँडाको लिगामेन्टमा चोट लागेको छ ।’

यस प्रकारको चोट निको हुन लामो समय लाग्ने हुनाले यस सिजनको बाँकी पूरा समय उनी मैदानबाहिर रहन सक्ने छन् । यो लिभरपुललाई मात्र नभएर अर्को वर्षको युरोअगाडि नेदरल्यान्ड्सका लागि पनि उत्तिकै ठूलो धक्का लागेको छ । लिभरपुलका पूर्वमिडफिल्डर ग्रेम सउनेसले भनेका छन्, ‘यो सिजनको सुरुमा कसैले मलाई लिभरपुलका लागिग सबैभन्दा महत्त्वपूर्ण खेलाडी को हुन् भनेर सोधेको भए, म भान डाइकै नाम लिन्थें, उनी टोलीमा छुट्ने नहुने खेलाडी हुन् ।’ लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल ५ खेलपछि तेस्रो स्थानमा छ । यो शीर्षस्थानका रहेको एभरटनभन्दा ३ अंक कम हो । साउथह्याम्पटनबाट क्लब कीर्तिमान ७ करोड ५० लाख पाउन्डमा लिभरपुल आएका भान डाइकले पछिल्ला दुवै सिजन प्रत्येकमा ५० भन्दा बढी खेल खेलेका छन् । लिभरपुलले अबको १८ दिनमा ६ खेल खेल्नेछ र त्यसमा टिमले सेन्ट्रल डिफेन्समा खेलाडीको अभाव महसुस गर्नेछ । त्यस भूमिकामा जोए गोमेज र जोएल माटिप मात्र उपलब्ध छन् ।

लिभरपुलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा अयाक्सको सामना गर्दै छ । लिभरपुलका पहिलो रोजाइका गोलरक्षक एलिसन बेकर पनि चोटकै कारण मैदानबाहिर रहेका छन् । यसैबीच लिपरपुलका अर्का पूर्व खेलाडी जिमी कारेघरले पनि खेलाडी स्थानान्तरणको अर्को समयसीमा खोल्न टिमले अर्को कोही सेन्ट्रल डिफेन्डर अनुबन्ध गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘भान डाइकबिना लिभरपुललाई गाह्रो छ, त्यसै त लिग उपाधिको होड यसपल्ट अझ खुला भएको छ ।’

प्रकाशित : कार्तिक ४, २०७७ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×