कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एकल महिला, दलित र गरिबलाई राहत

डम्बरसिं राई

खोटाङ — रावाबेंसी गाउँपालिकाले दलित, गरिब र एकल महिलालाई चाड मनाउन राहत उपलब्ध गराएको छ । दसैं–तिहार मनाउन गाउँपालिकाले प्रतिघरपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई लिटर खानेतेल, दुई किलो नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका चार सय १५ घर एकल महिला, दलित र गरिब परिवारलाई नौ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । ‘ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने परिवारलाई खाद्यान्न अभावले चाड मनाउन समस्या हुने भएकाले राहत वितरण गरिएको हो,’ निरौलाले भने ।

वडा कार्यालयबाट छनोट भएर आएका लक्षित वर्गलाई वितरण गरिने राहत सामग्री खरिद तथा वितरणमा अनियमितता हुन नदिन यस पटक गाउँपालिकाले कुपन सिस्टम लागू गरेको निरौलाले सुनाए । उक्त राहत स्थानीय होलसेल तथा खुद्रा पसलसँग सम्झौता गरेर सामग्री झिकाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए ।

गाउँपालिकाले वडा नम्बर–१ कुभिन्डेका ७०, वडा नम्बर–२ खार्पाका ६५, वडा नम्बर–३ लामीडाडाँका ७०, वडा नम्बर–४ धारापानीका ६८, वडा नम्बर–५ दुवेकोलका ५५ र वडा नम्बर–६ हौंचुरका ६५ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

गत साउन १८ र १९ गते गएको बाढीपहिरोले अन्नबाली सखाप पारेपछि बिचल्लीमा परेका २२ घरपरिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई पनि प्रतिपरिवार ३० किलोग्राम चामल, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष निरौलाले जनाए ।

प्रकाशित : कार्तिक ३, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?