आईपीएलको सट्टेबाजीमा संलग्‍न थप ३ जना पक्राउ

जितेन्द्र साह

मोरङ — इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन सट्टेबाजीमा संलग्न थप तीन जनालाई आइतबार राति मोरङ प्रहरीले पक्राउ गरेको छ । 

आईपीएलको सट्टेबाजीमा संलग्‍न थप ३ जना पक्राउ

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ भट्टिमोडका ३७ वर्षीय पुरुषोत्तम साह, मञ्जित साह र २८ वर्षीय अफजर अली रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट २८ हजार ५ सय रुपैयाँ नगद, ३ थान मोबाइल, ३ डायरी र एक मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा पहिले राति साढे एघार बजे आफ्नै घरबाट मोबाइलमार्फत सट्टेबाजी गरिरहेका पुरुषोत्तमलाई र यसपछि मञ्जित एवं अलीलाई नियन्त्रणमा लिइएको हो । बरामद डायरीमा सट्टेबाजीमा लगानी गर्नेको नाउँ र हिसाबकिताब रहेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

मोरङ प्रहरीले यसअघि १३ असोजमा श्रृंखलाबद्ध कारबाही गरेर सट्टेबाजीमा प्रयोग भएको तीन मोबाइल, एक ल्यापटप, ६० हजार रुपैयाँ नगद र एक मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको थियो । ‘पक्राउ परेको यो नयाँ समूहको पुरानोसँग कुनै सम्बन्ध देखिएन,’उनले भने,‘तर यो समूह सानो भए पनि पहुँच पुरयाएर खेल्ने गरेको पाइयो ।’

हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजमा संलग्न अर्को एक गिरोहको बारेमा अनुसन्धान जारी रहेको एसपी खड्काले बताए । उनले भने,‘थप एक समूहको खोजी गर्दैछौं ।’ काठमाडौं प्रहरीले पनि २६ असोजमा आईपीएलको सट्टेबाजी संलग्न ६ जनालाई १ लाख ८५ हजार १ सय २० रुपैयाँसहित पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक ३, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?