१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोरङ प्रशासनद्वारा सामूहिक पूजामा रोक

जितेन्द्र साह

मोरङ — कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि लागू हुने गरी दसैंमा सामूहिक पूजा नगर्न भन्दै निषेधाज्ञा आदेश जारी गरेको छ । 

मोरङ प्रशासनद्वारा सामूहिक पूजामा रोक

१५ कात्तिक पूर्णिमाको मध्यरातिसम्म यसको पालना गर्नुपर्ने मोरङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कोशहरि निरौलाद्वारा आइतबार अबेर साँझ जारी विज्ञप्तिमा उल्लेख छ । उनले तिहार एवं छठसम्म यो आदेशको पालना गर्न आदेश दिएका छन् । विज्ञप्तिअनुसार आदेशको उल्लघंन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

यी महापर्वहरुमा अघिल्ला वर्षहरुमा मन्दिर, शक्तिपीठ, जलासय किनार र टोलटोलमा हर्षोल्लासकासाथ सामूहिक गतिविधिको आयोजना हुँदै आएको थियो । कोभिडको बढ्दो जोखिम नियन्त्रणका लागि सर्वपक्षीय साथ, सहयोग तथा निरन्तर सजगता आवश्यक देखिएको प्रजिअ निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त आदेशअनुसार सामूहिक रुपमा भेला भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलशयात्रा, बलि पूजा, मूर्ति पूजा र बिर्सजन गर्न पाइने छैन । सामूहिक रुपमा शुभकामना आदानप्रदान र चियापान समारोह जस्ता कार्यक्रम यो वर्ष गर्न नपाइने भनिएको छ । भीड निम्त्याउने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा र सम्मेलनमा पनि प्रजिअले रोक लगाएका छन् ।

राजमार्गमा चल्ने लामो दूरीका सवारीबाहेक उक्त अवधिभर राति ८ बजेदखि बिहान ५ बजेसम्म आवतजावत गर्न नपाइने उक्त आदेशमा स्पष्ट भनिएको छ । आइतबार २ सय ६५ जना थपिएसँगै मोरङमा संक्रमितको संख्या ६ हजार ६ सय २४ र विराटनगरमा १ सय ५४ जना थपिएसँगै ४ हजार २ सय ८२ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार मोरङमा कोरोनाले आइतबारसम्म ज्यान गुमाएका ५३ जनामध्ये ३१ विराटनगरका छन् । प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?