‘आ–आफ्नै स्थानबाट पाथीभराको आराधना गरिदिनुहोस्’– प्रहरी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आ–आफ्नै स्थानबाट पाथीभराको आराधना गरिदिनुहोस्’– प्रहरी

आनन्द गौतम

ताप्लेजुङ — नौरथको पहिलो दिन पाथीभरा मन्दिरमा पाँच सयको हाराहारिमा तिर्थयात्री पुगेपछि प्रहरीले मन्दिरमा भीड नगरिदिन र आ–आफ्नो स्थानबाट आराधना गरिदिन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार बिहान एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध साथै गृह मन्त्रालयको शक्तिपिठमा नित्य पूजाबाहेक भीडभाड नगर्न, नगराउन स्थानीय प्रशासनलाई दिएको निर्देशनका कारण मन्दिर नजान आग्रह गरेको हो ।

नौरथको समयमा धार्मिक स्थलमा अधिक तिर्थयात्री हुने र कोरोना संक्रमण बड्न सक्ने भएकाले ताप्लेजुङबासी र भक्तजनलाई आग्रह गर्दै प्रहरीले यस्तो सूचना निकालेको हो । सरकारले यातायात खोलेपछि पाथीभरा मन्दिरमा तिर्थयात्री आउने गरेका थिए । तिर्थयात्री दसैंको पहिलो दिन ह्वाक्तै बढेका हुन् । दोश्रो दिन आइतबार भने थोरैको संख्यामा मात्रै मन्दिर गएको पाथीभराका कर्मचारीले बताएका छन् । होटल व्यवसायीका अनुसार सोमबार र मंगलबारका लागि धेरैले होटल बुकिङ गराएका छन् ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न गाडीबाट ओर्लिएर उकालो पैदलयात्रा गर्नुुपर्ने र उच्च लेकाली क्षेत्रमा अक्सिजन लगाएर हिँड्न कठिन भएकाले पाथीभरामा सुरक्षाविधि जोखिमपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् । २६ सय मिटर उचाइको काफ्लेपाटीदेखि करिब ३८ सय मिटर उचाइको मन्दिरसम्म पाँच किलोमिटर उकालो हिँड्नुपर्छ ।

प्रकाशित : कार्तिक २, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

सीपले जसलाई दिलाएको छ सम्मान

अरू जसरी उनले विभेद खेप्नु परेन । भन्छन् ‘सबैको घरका झ्यालढोकाको काम गर्ने भएर होला सबैले मलाई सम्मान गरेका छन् ।’
प्रकाश बराल

बागलुङ — कमिज, पाइन्ट, इस्टकोट र ढाकाटोपी कहिल्यै छुटाउँदैनन् । उमेरले साना–ठूलो सबैसँग सम्मानका साथ बोल्छन् । उनको हातमा काष्ठकलाको मुख्य सीप छ । बाबुबाट सिकेको कला तीन भाइलाई पनि सिकाएका छन् ।

बागलुङ नगरपालिका–३ का ५८ वर्षीय भीमबहादुर विकले बाबुबाजेको विरासत १२ वर्षको उमेरबाटै धान्न थालेका थिए । ‘सयौं मूर्ति कुँदेको छु, काष्ठकलाबाट धेरै वटा टुँडाल बनाएको छ,’ विकले भने, ‘पुर्खाले गरेको काम छाडेर अरू पेकामा जानै मन लागेन ।’

२०२५ सालमा विद्यालय भर्ना भएर पढेकाले उनले सरकारी जागिर पनि खान सक्थे । उनले पिताले गरेकै काम रोजे । पिता मोतीलाल मूर्तिकार थिए । मोतीलाल मात्र हैन भीमबहादुरका ६ वटा पुस्ता काष्ठकलामा थिए । ‘हाम्रा पुस्ताले पाल्पाको ऋषिकेश मन्दिर बनाएको भन्ने कहानी बुबाले सुनाउनुहुन्थ्यो,’ विकले भने । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले कालीगण्डकी स्नान गर्न जाँदा ऋषिकेशको मूर्ति भेटेर मन्दिर बनाउन लगाएको इतिहास छ । उक्त मन्दिरमा काठको काम र मूर्ति कुँद्न कालिगड खटिएका थिए । तिनमा भीमबहादुरका ६ पुस्ता अघिका जिजुबाउ गएको किंवदन्ती उनले सुनेका छन् ।

‘बुबाले दाजुलाई सिकाउनुभएछ, अहिले दाजुबाट हामीले सिक्दै छौं,’ भीमबहादुरका कान्छा भाइ इन्द्रले भने । माइला सूर्य र साइँला नरबहादुरले पनि कलाकारिता सिकेका छन् । मल्लकालीन टुँडालजस्तै काठमा मूर्ति कुद्नेहरू अहिले काठमाडौं उपत्यकाबाहिर भेटिँदैनन् । भीमबहादुर र उनका भाइहरूले बनाएका कलात्मक टुँडाल उपत्यकाका कलाकर्मीले बनाउनेभन्दा कमका देखिँदैनन् । ‘बागलुङ, पर्वत र म्याग्दीका आकर्षक मठमन्दिरका काष्ठकला भीमबहादुर र उनका बाबु मोतीलालले बनाएका रहेछन्,’ सामाजिक अगुवा देवबहादुर श्रेष्ठ भन्छन्, ‘अहिले पनि बजारका घरमा ढोका कुँद्न उनकै खोजी हुन्छ ।’ गैरागाउँका विश्वकर्मा भनेपछि धेरैले सम्मान गर्ने उनले बताए ।

देवदेवी, जंगली जनावर, कलश, धनुषबाण, यौनलीलाजस्ता मूर्ति काठमा कुँद्न भीमबहादुरलाई बागलुङमा अरू कलाकारले भेट्दैनन् । हरेक टुँडालमा इतिहास लेखाउन सकिने उनले बताए । ‘कुनै जन्तुको चित्र मात्र हैन, त्यसको इतिहास बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसपछि मात्रै जीवन चक्रलाई आकर्षक बनाउन सकिन्छ । के बनाउने भनेर तयारी गर्नै समय लाग्छ ।’ पछिल्लो समय मन्दिरका टुँडाल र बजारका घरमा काठका ढोका बनाइदिन उनको खोजी हुने गरेको छ । एउटा ढोकामा दुई महिना लगाएर कला भर्दा १ लाख रुपैयाँसम्म पारिश्रमिक पाएको विकले बताए ।

आधुनिक शैलीका ढलान घर बने पनि आकर्षक ढोका राख्ने चाहना हुनेले उनलाई बोलाउँछन् । कलात्मक ढोका बनाउन सालको अग्राख चाहिन्छ । कच्चा काठमा उनले कला भर्दैनन् । ‘कुकाठ पर्‍यो भने कोर्दैमा बिग्रन्छ । छिनो लगाउँदा कति वर्ष टिक्ने काठ हो चिन्न सक्छु,’ उनले भने, ‘अग्राख भयो भने सयौं वर्षसम्म कला बाँच्छ ।’ मूर्तिकलामै मिहिनेत गरेर सिकेकाले बाँचुन्जेल यही पेसा गर्ने विकको चाहना छ । ‘मैले बनाएको मूर्तिले वर्षौंसम्म सम्मान पायो भने मेरो सफलता त्यही हो,’ उनले भने ।

उनको कला सिक्न फर्निचर हाउसका सिकर्मी पनि चाहना राख्छन् । ‘हाम्रो फर्निचर व्यवसायमा काम गरेका धेरै युवाले भीमबहादुरलाई भेटेर बुटा कुँद्ने सीप सिकेका छन्,’ स्थानीय तारानाथ शर्माले भने, ‘कहिले त ज्याला दिएर एकदुई दिन फर्निचर उद्योगमै बोलाएर सिकेका छन् ।’ भीमबहादुरले बागलुङ कालिका भगवती मन्दिर पनि बनाएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । ‘२०४८ सालमा गरिएको पुनर्निर्माणको क्रममा काठका मूर्ति र टुँडाल उनले कुँदेको रेकर्ड भेटिएको हो,’ खड्काले भने, ‘अहिले केही सत्तल पुनर्निर्माण गर्दै छौं । त्यसका लागि भीमबहादुरलाई नै बोलाएका छौं ।’ व्यस्त हुने भएकाले भीमबहादुरको समय पाउन कुर्नुपर्ने उनले बताए ।

कालीगण्डकी किनारको खनियाघाटको शिवालय मन्दिर, म्याग्दीको महारानी मन्दिर र पौवा, मुस्ताङको टुकुचेका थकालीका घरमा कुँदिएका कला, मल्लाज दरबारका मूर्तिलगायत दर्जनौं मठमन्दिरमा उनले कला भरेको बताए । भीमबहादुर र भगत सर्वजितको पुर्ख्यौली एउटै हो । भगतले २००७ सालको क्रान्तिमा बीपी कोइरालालाई साथ दिएका थिए । जातीय विभेद हटाउन उनको ठूलो भूमिका थियो । कलाकारिता जानेकाले भीमबहादुरले पनि उस्तो विभेद खेप्नु नपरेको बताए ।

‘सबैको घरका झ्यालढोकाको काम गर्ने भएर होला सबैले मलाई सम्मान गरेका छन्,’ उनले भने, ‘विभेद खेप्नु परेन ।’ भीमबहादुरको जन्मस्थल गैरागाउँ र मूलपानीमा विभेद भने हटेको छैन ।

प्रकाशित : कार्तिक २, २०७७ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×