कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा धमाधम ‘बीओपी’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — भारतसँग सीमा जोडिएका झापाका नाकाहरूमा धमाधम सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्न थालिएको छ । कोरोना संक्रमणपछि सीमा सुरक्षामा राखिएको सशस्त्रका अस्थायी पोस्टहरूलाई बीओपीमा परिणत गरिएको हो ।

गत असोज १९ मा दक्षिण झापाको कचनकवल ५ स्थित पाठामारीमा बीओपी स्थापना गरिएको थियो । बिहीबार मेचीनगर १५ ज्यामिरगढीमा बीओपीको अस्थायी पोस्ट थपिएको छ । सशस्त्र प्रहरी बल बराहवाहिनी गण इटहरीका डीआईजी वंशीराज दाहालले प्रदेश १ मा बीओपीको संख्या ३५ पुगेको जनाए । उनले भारतसँगको खुला नाकाको फाइदा उठाउँदै हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न बीओपी खडा गरिएको जनाए । ‘बीओपीको संख्या अझै थपिनेछ,’ उनले भने । डीआईजी दाहालका अनुसार झापामा यो वर्ष ९ वटा बीओपी राखिनेछ । जिल्लामा १ सय ४४ दशमलव २ किलोमिटर खुला सीमा क्षेत्र छ । दक्षिण भेगतिर भारतको विहार र पूर्वी भेगमा पश्चिम बंगाल राज्यसँग साँधसीमा जोडिएको छ । खुला सीमाका कारण नेपाली सुरक्षाकर्मीलाई अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणमा चुनौती हुँदै आएको छ ।

सशस्त्र प्रहरीको नम्बर २ हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न सुरु गरिएको जनाए । यो वर्ष पूर्वोत्तर झापाको तिरिङ, नकलबन्दा तथा दक्षिणतिरको सतीघट्टा, ज्यामिरगढी, भद्रपुरको मेची पुल आसपास, महेशपुर, पाठामारी, पन्थापाडा र गौरादहको आँपगाछीमा बीओपी थपिने एसपी पाण्डेले जानकारी दिए । काँकडभिट्टास्थित साविकको सशस्त्र प्रहरी राजस्व गुल्मलाई पनि यसै वर्षदेखि बीओपीमा परिणत गरिएको छ । यसअघि बाहुनडाँगी, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुन्जीबारी, गौरीगन्ज र टाघनडुब्बामा बीओपी स्थापना भइसकेका छन् । एसपी पाण्डेले भने, ‘तीन वर्षभित्र झापाका ३७ नाकामा बीओपी रहनेछ ।’ बीओपी राख्न जमिन अभाव र भौतिक पूर्वाधारको समस्या छ । पाठामारीमा स्थानीय सरकारले उपलब्ध गराएको जमिनमा र मेचीनगर–१५ मा भने व्यक्तिको निजी जमिनमा बीओपी राखिएको छ । मेचीनगर–१५ को एक सरकारी विद्यालयमा बस्दै आएका सशस्त्र प्रहरीलाई वैभव चिया बगानले तत्कालका लागि व्यवस्थापन गर्ने गरी जमिन र भौतिक संरचना उपलब्ध गराएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?