नातिको कुटाइबाट घाइते भएका वृद्धको मृत्यु
धनकुटा — धनकुटामा नातिको कुटाइबाट घाइते भएका ९० वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईको कुटाइबाट घाइते भएका हजुरबुवा फत्तबहादुर राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार मादक पदार्थ सेवन गरेका अबिनाशले सोमबार हजुरबुवालाई कुटपिट गरेका थिए । अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको आफन्तजनले उपचारका लागि धरान लगेका थिए । उनको मृत्यु भएपछि छिन्ताङस्थित इलाका प्रहरी कार्यालयले कुटपिटमा सम्लग्न अबिनाशलाई शुक्रबार नै नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिने एसपी अधिकारीले बताए ।
प्रकाशित : आश्विन ३०, २०७७ २२:३७प्रतिक्रिया