सुनसरीमा चाडपर्व लक्षित भीडभाड रोक्न निषेधाज्ञा जारी

प्रदीप मेन्याङ्बो

सुनसरी — जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिँदा दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बढ्दो कोरोना महामारीको सन्दर्भमा शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको हो ।

सुनसरीमा चाडपर्वको सन्दर्भमा निषेधाज्ञा जारी गरेको विषयमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘कोरोना संक्रमणको फैलने दर र मृत्यु दर बढेको र जोखिम अझै रहिरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको हो ।’ चाडपर्व नजिकिएसँगै मानिसहरु यसै बेला आफ्नो मनोकांक्षा भाकल पूरा गर्न विभिन्न शक्तिपिठ र मठमन्दिरहरुमा पूजाअर्चनाका लागि जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले त्यस्ता भीडभाडलाई रोकेर कम्तीमा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अुनसार मन्दिरमा नित्य पूजा गर्ने एक जना पुजारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हुने सामूहिक भजनकिर्तन, मस्जिदमा भेला, गुम्बामा भेला, चर्चमा भेला, शुभकामना आदनप्रदान कार्यक्रम, उद्घाटन र सिलन्यास, राजनीतिक दलका कार्यक्रमहरुमा पनि रोक लगाएको छ ।’

प्रकाशित : आश्विन ३०, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?