पोखरीमा डुबेर २२ वटा बाँदर मरे, १२ को जीवितै उद्धार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीमा डुबेर २२ वटा बाँदर मरे, १२ को जीवितै उद्धार

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–५ सानीटारमा बिहीबार साँझ सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् । १२ वटाको स्थानीय र वन डिभिजन कार्यालयका कर्मचारीले जीवितै उद्धार गरेका छन् ।

बाँदरले सँधै अन्नबाली खाएर दु:ख दिने क्षेत्र मानिने सानीटारमा शुक्रबार ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो । सिंचाइका लागि निर्माण गरिएको सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए ।

‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दाखेरि डुबेर मरेको देखियो,’ डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले भने, ‘एउटा डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्छ ।’

बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ । स्थानीय मिनप्रसाद दाहाल र विकास विशंखेले सुरुमा बाँदर पोखरीमा पसेको देखेका थिए । उनीहरुले सकेको जति उद्धार गर्दागर्दै पनि २२ वटा मरेको बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

कोरिया मैत्री अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यसैगरी, भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज २१ (बुधबार) कोरोना संक्रमण पुष्टि भई भक्तपुर अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका–९ घरभई मध्यपुर थिमि निलवाराही बस्ने ४१ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । तीमध्ये १३ महिला र ३४ पुरुष छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×