प्रदेश १ का ११ वटा पालिकालाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेशका ११ वटा पालिकालाई एक–एकवटा वारुणयन्त्र र प्रहरी भ्यान उपलब्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले सम्बन्धित पालिकाका प्रमुखलाई बिहीबार साँचो हस्तान्तरण गरे ।

प्रदेश १ का ११ वटा पालिकालाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ११ वटा वारुणयन्त्र ५ करोड ६७ लाख २० हजार रुपैयाँ र १४ वटा प्रहरी भ्यान ६ करोड २८ लाख २७ हजार ४ सय ६० रुपैयाँ लागतमा खरिद गरेको हो ।

वारुणयन्त्र र भ्यान पाउनेमा मोरङको कानेपोखरी गाउँपालिका, सुनसरीको कोसी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिका छन् ।

हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि अर्को चरणमा वारुणयन्त्र र प्रहरी भ्यान उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

‘यस प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रमा वारुणयन्त्र, प्रहरी भ्यान र एम्बुलेन्सको व्यवस्था हुन्छ,’ उनले भने, ‘१४ वटै अत्यावश्यक केन्द्रमा चालू आर्थिक वर्षमै एम्बुलेन्स उपलब्ध गराउँछौं ।’

अत्यावश्यक सेवा केन्द्रमा रहने वारुणयन्त्र, प्रहरीभ्यान र एम्बुलेन्स सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्ष संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत सञ्चालन हुने कार्कीले जानकारी दिए ।


प्रकाशित : आश्विन २९, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?