नाका नखुल्दा ओलाङचुङगोलाका गलैंचा बिकेनन्

आनन्द गौतम

ताप्लेजुङ — ओलाङचुङगोलाकी याङ्गी शेर्पाको घरमा अहिले ३६ वटा गलैंचा थन्किएका छन् । उनका आमाछोरीले गत वर्षको असोजयता यी गलैंचा बुनेका हुन् । 

नाका नखुल्दा ओलाङचुङगोलाका गलैंचा बिकेनन्

यसपालि कोरोनाकै कारण गलैंचा बजार पुग्न सकेका छैनन् । अर्की स्थानीय चुङ्गा शेर्पाले पनि ३२ वटा गलैंचा बिक्रीका लागि तयार राखेकी छन् । यी दुई मात्र होइन, फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका प्रत्येक घरमा अहिले गलैंचा थुप्रिएका छन् । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ शेर्पाका अनुसार एउटै बस्तिमा ५ सयभन्दा बढी गलैंचा बजार नपाएर थन्किएका छन् । सोही वडाको याङमा र मिक्वाखोला गाउँपालिका–५ पापुङमा पनि स्थानीयका गलैंचा बिकेका छैनन् । गाउँलेहरूले लगातार दबाब दिइरहेपछि छेतेन सदरमुकाम फुङलिङ आएर बजारको अध्ययन गरिरहेका छन् । ‘पहिला/पहिला गलैंचा ल्याएर छोडिदिने अनि व्यापारीले बिक्री भएपछि पैसा दिने चलन थियो,’ उनले भने, ‘अहिले त्यस्तो होइन, तत्कालै क्यास दिने ग्राहक चाहिएको छ ।’

नेपाली बजारभन्दा चीनको नाका खुले सहज हुने उनको बुझाइ छ । पछिल्ला वर्ष ओलाङचुङगोला, याङ्माका गलैंचा तिब्बतमा बिक्री हुने गरेका थिए । वडा कार्यालयका कर्मचारी तेन्जिङ शेर्पा पनि गाउँलेहरू ओलाङचुङगोलाको टिप्ताला भन्ज्याङ नाका खुल्ने पर्खाइमा रहेको बताउँछन् ।

प्रवक्ता छेतेनका अनुसार चीनको घुम्तिमामा गत वर्ष असोज २९ गते भएको व्यापारिक केन्द्र उद्घाटनमा नेपालको सीमावर्ती क्षेत्रमा बनेका सबै गलैंचा बिक्री भएका थिए । यहाँ पाँच दिनसम्म मेला लागेको थियो । गलैंचा लिन चीनबाट गाडी ओलाङचुङगोला आएका थिए । नेपाली व्यापारी आफैं गएर हातहातै बेचेका थिए । नेपालबाट लगिएका सामानमध्ये सबैभन्दा छिटो गलैंचा बिक्री भएको स्थानीय टाँसी भोटेले बताए । त्यसअघि भने रिउका व्यापारीले यता एकमुष्ट रूपमा किनेर त्यहाँ लगी बिक्री गर्थे ।

यसपालि कोरोना संक्रमणका कारण द्विदेशीय नाका ठप्प भएकाले गलैंचा तिब्बत लैजान सकिएको छैन । स्थानीयका अनुसार चीनमा एक जोडी गलैंचा २ हजार युआनमा बिक्री हुन्छ । यो नेपाली ३२ देखि ३४ हजार रुपैयाँ हो । चिनियाँहरू प्रायः एउटा मात्रै गलैंचा किन्दैनन्, जोडी नै खोज्छन् । ‘हामी घुम्तिमामा जाँदा एउटा गलैंचाको जोडी पुगेन, त्योचाहिँ बिक्री भएन,’ टाँसीले भने, ‘गोलामा ल्याएर जोडी बुनेर रेडी पारेको फेरि पठाउनै पाएनौं ।’

तुलनात्मक रूपमा सस्तो अनि राम्रो हुने भएकाले चिनियाँको रोजाइ नेपाली गलैंचा हुने गरेको छेतेनको बुझाइ छ । ‘त्यहाँको एउटै घरमा १०–१२ वटा गलैंचा एकै पटक खरिद गर्छन्,’ गलैंचा बिक्री गर्न पटकपटक तिब्बत पुगिसकेकी डोङ्गा शेर्पाले भनिन्, ‘नयाँ घर बनाउनेले पहिला जोड्ने सामान भनेकै गलैंचा रहेछ ।’

चीन जानुअघिसम्म गलैंचा सदरमुकाम फुङलिङ आउथ्यो । त्यहाँबाट काठमाडौंको बौद्धसम्म पुर्‍याएर बिक्री गरिन्थ्यो । तर पैसा हात पर्न वर्षदिनसम्म पनि कुर्नुपर्थ्यो । छेतेनले भने, ‘चीनमा क्यास पैसा तत्काल दिन्छन्, नदिए दाल, चामल, नुन, तेलजस्ता व्यापारिक सामान ल्याएर पनि हिसाब हुन्छ ।’

लकडाउनमा सबै जना फुर्सदिला भएकाले यसपालि गलैंचा पनि धेरै बुनिएको छ । एउटा गलैंचा बुन्न एक जनालाई १२ दिनसम्म लाग्ने डोङ्गा बताउँछिन् । ‘लगातार बन्न पाए ८/९ दिनमा पनि सकिन्छ,’ उनले थपिन, ‘तर छोरीमान्छे भातखाजा गर्दा १२ दिनसम्ममा तान फुकालिन्छ ।’ चौंरी गोठ सम्हाल्ने भएकाले पुरुषले चाहिँ गलैंचा बुन्दैनन् । यस्मा लाग्ने धागो पनि चीनबाटै ल्याउने गरिएको छ । धागोलाई रंगीन बनाउने केमिकल दार्जिलिङ र काठमाडौंबाट झिकाइन्छ ।

प्रकाशित : आश्विन २७, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?