जुवा खेल्ने ६ जना पक्राउ, एक फरार
मोरङ — दुई लाख ५३ हजार २ सय ३५ रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले शुक्रबार साँझ मोरङको बेलबारी–४ स्थित गर्जुराम टोलबाट पक्राउ गरेको छ । एक जना फरार छन् ।
पक्राउ पर्नेमा मोरङ बेलबारी–३ स्थित मैनाबारी टोलका ४० वर्षीय रित गुरुङ, सोही ठाउँका लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक गनरपालिका–५ स्थित मन्टेश्वरी टोलका ३२ वर्षीय धर्मेन्द्र राई, सुनसरी इटहरी उमहानगरपालिका–१ स्थित हलगडाका ४७ वर्षीय प्रदीप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका–८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल रहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरुबाट नगद बाहेक १ सेट कौडा, ३ बुक तास, एउटा गाडी, एक मोटरसाइकल र एउटा स्कुटर बरामद भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवामा संलग्न गाडीका साहु बेलबारीकै मोहन गुरुङ फरार छन् ।
मोरङको बेलबारीमा संगठित ढंगले जुवा सञ्चालन भइरहेको एक सातादेखि सूचना आइरहेको क्रममा लगातार छापा मार्दा उनीहरु पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
‘उनीहरु आपसमा फोन सम्पर्कमार्फत हरेक दिन मोरङ र सुनसरीमा अलगअलग ठाउँ निर्धारण गरेर भेला भई जुवा खेल्ने हुनाले लगातार छापा मार्दा पनि फेला परिरहेका थिएनन्,’ उनले भने, ‘निकै कोसिस पछि प्रहरी टोलीले उनीहरुलाई सप्रमाण पक्राउ गर्न सकेको हो ।’ उनीहरु मोरङ, सुनसरी र झापाका विभिन्न ठाउँमा जुवा खेल्दै आएको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए । जुवा खेल्ने थलोबाट बरामद अन्य दुई गाडीका साहुको बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।
प्रकाशित : आश्विन २४, २०७७ १०:३१