कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापामा प्लाज्मा थेरापी बैंक सञ्चालनमा

अर्जुन राजवंशी

बिर्तामोड — कोरोना संक्रमित बिरामीका लागि बिर्तामोडमा प्लाज्मा थेरापी बैंक सञ्चालनमा ल्याइएको छ ।

झापामा प्लाज्मा थेरापी बैंक सञ्चालनमा

नेपाल रेडक्रस सोसाइटी झापाले एकका लागि एक अभियानसँगको सहकार्यमा बिर्तामोडस्थित रक्त सञ्चार सेवा कार्यालय भवनमा प्लाज्मा बैंक स्थापना गरिएको हो ।

रक्त सञ्चार केन्द्रमा प्लाज्मा थेरापीका लागि दुई वटा कम्पोनेन्ट मेसिन छन् । त्यसमध्ये एउटालाई कोरोना संक्रमित बिरामीका लागि आवश्यक प्लाज्मा संकलनमा प्रयोग गरिएको छ । प्लाज्मा बैंकका लागि प्लाज्मा सेपरेटर, माइनस ४० डिग्री सेल्सियसको फ्रिज, २ वटा बेडलगायतका उपकरण जडान गरेको रेडक्रस बिर्तामोड उपशाखाका सभापति सजेस सिवाकोटीले जानकारी दिए ।

प्लाज्मा बैंक स्थापना गर्न एकका लागि एक अभियानले नगद ११ लाख रुपैयाँ सहयोग गरेको छ । प्लाज्मा थेरापीका लागि कोरोना संक्रमण भइ निको भएका व्यक्तिको रगत आवश्यक हुन्छ । कोरोना संक्रमित व्यक्तिबाट निको भएको १४ दिनदेखि ३ महिना समयावधिभित्र रगत संकलन गर्नुपर्ने रेडक्रस जिल्ला सभापति लोकराज ढकालले बताए ।

प्लाज्मा थेरापीका लागि जिल्लाका ४० जनाले रगत दिन नाम लेखाएको ढकालले जानकारी दिए । बैंकको शुभारम्भसँगै इलाममा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक चिरन्जिबी प्रसाई र झापाको चन्द्रगढीस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा कार्यरत जवान सञ्जित धमलाले रगत दिएका छन् । धमला गत साउन २१ तथा प्रसाई साउन २६ गते कोरोना संक्रमणमुक्त भएका थिए ।

प्रकाशित : आश्विन १९, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?