सिरिजंघा घटनाका घाइतेको उद्धार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिजंघा घटनाका घाइतेको उद्धार

आनन्द गौतम

ताप्लेजुङ — दुई दिनको प्रयासपछि जिल्लाको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जना घाइतेको उद्धार गरिएको छ ।उनीहरुलाई कैलाश एयरको हेलिकप्टरले शुक्रबार दिउँसो ४ बजे काठमाडौंको टिचिङ अस्पताल पर्‍याएको हो ।

कैलाश एयरका सञ्चालक ईश्वरी पौडेलका अनुसार शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर ५ ठाउँमा बसेर याम्फुदिन पुगेको थियो । ‘पहिला रुम्जाटारमा गएर बारीमा बस्यो, त्यसपछि ओखलढुङगामा गएर बस्यो,’ पौडेलले थपे, ‘त्यहाँबाट पनि सिधै जान नसकेपछि थामखर्क विमानस्थलको तल खोलामा, धनकुटा र भोजपुरको सिमानामा र पाँचथरको रानीगाउँमा बसेपछि मात्रै याम्फुदिन पुग्यो ।’ याम्फुदिनको थुम्गीममा गएर बिरामी उठाएको थियो ।

तस्बिर सौजन्य : ईश्वरी पौडेल

आफ्नै जिल्लाको भएकाले बिहीबारदेखि दुईवटा हेलिकप्टरवाट घाइते उठाउने प्रयास गरेपनि दुई दिन लागेको पौडेलले बताए । क्याप्टेन दिलिप थापाका अनुसार शुुक्रबार साढे चार घण्टा उडान समयमात्रै लागेको थियो । याम्फुदिनबाट फर्कंदा भने बिना अवरोध काठमाडौं पुगेको थापाले बताए । बिहीबार काठमाडौं र लुक्लाबाट उडाउने प्रयास गरेपनि मौसमका कारण सफल नभएको बताए ।

याम्फुदिनका लाक्पा शेर्पाले आफ्नै परिवारका ठूली आमा, दाजु र भाइलाई 'बाम्फोक' प्रहार गरी घाइते बनाएका थिए । बुधबार राति सुतेको ठाउँमा ठूली आमा फुटिक, दाजु पासाङ र भाइ लाक्पा छिरिङ भोटेको टाउको, गर्धन लगायतका स्थानमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । अभियुक्त लाक्पा भोटे पक्राउ परिसकेका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा शुक्रबार एक संक्रमितको मृत्यु भएको छ । स्वस्थ्यमा समस्या आएपछि बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका बुटवल–१० का ७२ वर्षीय पुरुषको दिउँसो ३ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

उनको बिहीबार भएको पीसीआर परीक्षणको नतिजा शुक्रबार बिहान आएको थियो । रिपोर्ट पाजिटिभ आएपछि कोरोना अस्पतलमा सारिएका उनको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । मृतकमा मृगौला र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×