१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हेलिकप्टर नपुग्दा घाइते अझै गाउँमै

आनन्द गौतम

ताप्लेजुङ — बेलैमा हेलिकप्टर नपुग्दा जिल्लाको भारतीय सीमावर्ती याम्फुदिनका तीन जना घाइतेको उद्धारमा कठिनाइ भएको छ । बुधवार राति स्थानीय लाक्पा भोटेले ‘बाम्फोक’ प्रहार गर्दा घाइते भएका उनीहरू शुक्रबार बिहानसम्म पनि अचेत छन् ।

सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङका अनुसार तीनै जनालाई वडाको स्वास्थ्य चौकीमा राखिएको छ । वडामा प्राथमिक उपचार मात्र भएकाले त्यहाँ थप उपचार सम्भव नभएको गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार काठमाडौंबाट उडेको हेलिकप्टर बिहीबार सोलुखुम्बुमा आएर बसेको छ । मौसम खुल्नासाथ उडाउने तयारी भइरहेको छ । ‘यहाँ त मौसम खुलिरहेकै छ,’ वडाध्यक्ष लाक्पा भोटेले भने, ‘खै उतैबाट हेलिकप्टर आएन ।’

सिरिजंघा–८ याम्फुदिन तारतुमका पासाङ भोटे (वर्ष ३६), लाक्पाछिरिङ भोटे (वर्ष १८) र लाक्पा भोटे (२२ वर्ष) बेलुकी टिभी हेर्दै थिए । दाजुभाइका छोरा उनीहरू पासाङको घरमा थिए । सधैं १० बजे बत्ती जाने भएकाले त्यतिन्जेल टिभी हेरेर उनीहरू सुत्न गए ।

तीनै जना दोस्रो तलामा सुते । छोरीसहित फुपुछिरिङ र फुटिक मुनिको कोठामा सुते । राति १२ बजे माथिल्लो तलामा गड्याङगुडुङको आवाज आयो । ठूलीआमा फुटिक मोबाइलको उज्यालोमा तलामाथि पुग्दा दुई जना काटिएको अवस्थामा थिए । के भयो भनेर सोध्दा उनीमाथि पनि प्रहार भयो । फुपुछिरिङ पुगेपछि भने लाक्पा भागे । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार उनलाई बिहीबार दिउँसो घरको खोल्मामा लुकेको अवस्थामा पक्राउ गरिएको छ । उनलाई शुक्रबार सदरमुकाम फुङलिङ लगिँदै छ ।

श्रेष्ठका अनुसार लाक्पाले दुई जनालाई निदाएको अवस्थामा प्रहार गरेजस्तो देखिन्छ तर कारण खुलिसकेको छैन । ‘उनीहरूले बेलुकी केही मादक पदार्थ सेवन गरेको भन्नेसम्म सुनेको छु,’ श्रेष्ठले भने । लाक्पा आफैं अपांग भएकाले निदाएपछि प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?