परिवारकै ३ जनामाथि खुकुरी प्रहार गर्ने पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

परिवारकै ३ जनामाथि खुकुरी प्रहार गर्ने पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — आफ्नै ठूलो बुबाको परिवारका तीन जनामाथि खुकुरी प्रहार गर्ने सिरिजंघा गाउँपालिका–७ याम्फुदिन भोटेगाउँका २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । प्रहरीको टोलीले उनलाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

पशुचौपायाका लागि घाँस–पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनले बुधबार राति परिवार भित्रकै ३ जनामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । ६१ वर्षीय ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पाछिरिङ भोटेमाथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टासी शेर्पाले बताए ।

ताप्लेजङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुधबार बेलुका १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सुतेपछि उनले खुकुरी प्रहार गरेको पाइएको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि तेल्लोक इलाका प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय ल्याइने श्रेष्ठले बताए । भारतसँगको सिमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागी बिहीबार बिहानैदेखि पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको थियो । बिहीबार बिहानै तेल्लोक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी पनि घटनास्थलमा गएको थियो ।

मान्छेले बोकेर ल्याउँदा गाडीको पहुँच भएको हप्पुखोलासम्म पुर्‍याउन एकदिन पुरै लाग्ने भएकाले काठमाडौंबाट हेलिकप्टर झिकाइएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए । उनीहरुको स्थानीय स्वास्थ्य चौकिमा प्राथमिक उपचार भइरहेको छ । तेल्लोक स्वास्थ्य केन्द्रवाट एचएसहितको तीनजनाको स्वास्थ्यकर्मीको टोली पनि पठाइएको अध्यक्ष गुरुङले बताए । उनीहरुलाई पनि याम्फुदिन पुग्न कम्तीमा ६ घण्टा लाग्छ । एकैपटक सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हेलिकप्टरको सहयोग लिन खोजेको गुरुङले बताए । मौसमका कारण मध्याह्न १२ बजेसम्म काठमाडौबाट हेलिकप्टर नउडेको पनि उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

परिवारकै तीन जना सदस्यलाई खुकुरी प्रहार गरी फरार

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंघा गाउँपालिका–७ याम्फुदिन भोटेगाउँका २२ वर्षीय लाक्पा शेर्पाले परिवारकै तीन जना सदस्यलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ६१ वर्षीया ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षका भाइ लाक्पाछिरिङ भोटेमाथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टाशी शेर्पाले जानकारी दिए ।

ताप्लेजङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार बुधबार राति १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सबै जना सुतेपछि उनले खुकुरी प्रहार गरेर फरार भएको उनले बताए ।

‘प्रहरी चौकीमा पनि राति ढिलोगरी मात्रै खबर आएछ,’ डीएपी श्रेष्ठले भने, ‘अभियुक्तको खोजीभन्दा पनि घाइतेहरुको प्राथमिक उपचारमा बिहानसम्म लाग्नुपर्यो ।’ घाइतेहरुको रगत धेरै बहेकाले उपचारका लागि उनिहरुलाई हेलिकप्टरबाट अन्यत्र लैजाने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष टीका गुरुङले वताए ।

जिल्ला प्रशासन कार्यालयले पनि हेलिकप्टरका लागि समन्वय गरिरहेको बताएको छ । बोकेर उपचारमा ल्याउन कठिन र टाढा भएकाले सकेसक्म हेलिकप्टरको प्रयास भएको डीएसपी श्रेष्ठले जानकारी दिए । अभियुक्तको खोजीका लागि बिहीबार बिहानैदेखि पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बिहिबार बिहानै तेल्लोक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलमा गएको छ,’ श्रेष्ठले भने, ‘ताप्लेजुङको सिंकैचा, मामांखे र खेवाङको प्रहरी पनि परिचालित भइसकेको छ र पाँचथरको च्याङथापु प्रहरी चौकिसँग पनि समन्वय गरिसकेका छौं, आशा छ चाँडै पक्राउ पर्छ ।’

याम्फुदिन भारतसँग सीमा जोडिएको वडा हो ।

प्रकाशित : आश्विन ८, २०७७ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×