३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

परिवारकै ३ जनामाथि खुकुरी प्रहार गर्ने पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — आफ्नै ठूलो बुबाको परिवारका तीन जनामाथि खुकुरी प्रहार गर्ने सिरिजंघा गाउँपालिका–७ याम्फुदिन भोटेगाउँका २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । प्रहरीको टोलीले उनलाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

परिवारकै ३ जनामाथि खुकुरी प्रहार गर्ने पक्राउ

पशुचौपायाका लागि घाँस–पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनले बुधबार राति परिवार भित्रकै ३ जनामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । ६१ वर्षीय ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पाछिरिङ भोटेमाथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टासी शेर्पाले बताए ।

ताप्लेजङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुधबार बेलुका १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सुतेपछि उनले खुकुरी प्रहार गरेको पाइएको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि तेल्लोक इलाका प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय ल्याइने श्रेष्ठले बताए । भारतसँगको सिमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागी बिहीबार बिहानैदेखि पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको थियो । बिहीबार बिहानै तेल्लोक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी पनि घटनास्थलमा गएको थियो ।

मान्छेले बोकेर ल्याउँदा गाडीको पहुँच भएको हप्पुखोलासम्म पुर्‍याउन एकदिन पुरै लाग्ने भएकाले काठमाडौंबाट हेलिकप्टर झिकाइएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए । उनीहरुको स्थानीय स्वास्थ्य चौकिमा प्राथमिक उपचार भइरहेको छ । तेल्लोक स्वास्थ्य केन्द्रवाट एचएसहितको तीनजनाको स्वास्थ्यकर्मीको टोली पनि पठाइएको अध्यक्ष गुरुङले बताए । उनीहरुलाई पनि याम्फुदिन पुग्न कम्तीमा ६ घण्टा लाग्छ । एकैपटक सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हेलिकप्टरको सहयोग लिन खोजेको गुरुङले बताए । मौसमका कारण मध्याह्न १२ बजेसम्म काठमाडौबाट हेलिकप्टर नउडेको पनि उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?