प्रदेश सांसद प्रधानलाई प्रतिष्ठानका रूख काटेको आरोप

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद बिर्ख प्रधानलाई अर्जुनधारा–९ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठान परिसरभित्र रहेको वनका रूख कटान गरेको आरोप लागेको छ । उनले चार दिनअघि सुखानी पर्यटकीय क्षेत्रमा रहेका सिसौका तीनवटा रूख काटेको स्थानीय उपभोक्ताको भनाइ छ ।

प्रदेश सांसद प्रधानलाई प्रतिष्ठानका रूख काटेको आरोप

उनीहरूका अनुसार प्रधान आफैं उपस्थित भएर रूख कटान गरिरहेको सूचना दिइएपछि अर्जुनधारास्थित वनको सब डिभिजन कार्यालयको टोली घटनास्थलसमेत पुगेको थियो । तर, सांसदलाई रंगेहात फेला पार्दा पनि वन कर्मचारीले कारबाही नगरेको उपभोक्ताको आरोप छ ।

टोलीले कटान गरिएको ११ दशमलव ७३ क्युफिट काठ नियन्त्रणमा लिएर प्रतिष्ठान परिसरमै घाटगद्दी गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनका अनुसार सुखानी सहिद स्मृति प्रतिष्ठानमा रहेका वन पैदावार कसले प्रयोग गर्ने भन्ने विवाद छ । उनले भने, ‘प्रतिष्ठानले निर्णय गरेरै पनि रूख काट्न मिल्दैन ।’

वन कार्यालयप्रमुख घिमिरेलाई प्रधानले सुकेर हाँगा लत्रिएका कारण कछुवा संरक्षण क्षेत्रमा क्षति पुग्न सक्ने भएकाले रूख काटेको बताए पनि कान्तिपुरसँगको फोन सम्पर्कमा भने उनले आफूले कुनै रूख नकाटेको दाबी गरे । रूख लत्रिएर कछुवा संरक्षणमा क्षति पुग्ने भएपछि प्रतिष्ठानले नै काट्न लगाएको उनको भनाइ छ । ‘प्रतिष्ठानले रूख काट्न लगाएको रहेछ, संयोगले म घटनास्थल पुगेको मात्रै हो,’ नेकपाका नेता प्रधानले भने, ‘मेरा विरोधीहरूले सांसदले रूख काट्यो भनेर निराधार हल्ला फैलाएका मात्रै हुन् ।’

प्रतिष्ठानका पदाधिकारीहरूले भने सांसद प्रधानले पदीय दुरुपयोग गर्दै रूख कटान गरेको प्रमाण आफूहरूसँग रहेको जनाएका छन् । ‘सांसद आफैं उपस्थिति भएर रूख कटान गरिएको छ,’ एक पदाधिकारीले भने, ‘चाहिएको बेला हामी प्रमाण पेस गर्न सक्छौं ।’ प्रतिष्ठानले कानुनी प्रावधान मिचेर रूख कटान नगर्ने उनले बताए । ‘निर्णय गरेर रुख काट्नु पनि कानुन विपरीत हुन्छ,’ उनले भने, ‘हामीले रूख काट्ने निर्णय गरेकै छैनौं ।’

प्रकाशित : आश्विन ८, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?