२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सय भारुलाई नेपाली रुपैयाँमा साट्न २ रुपैयाँ बट्टा

पर्वत पाेर्तेल

काँकडभिट्टा — भारतको चेन्नईबाट घर फर्किएका तनहुँका रमेश नेपालीले आफूसँग भएको १५ हजार भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा साट्न ३ सय रुपैयाँ अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्‍यो ।

कोरोना संक्रमणपछि नाका बन्द भई भारतसँगको कारोबार शून्य भएपछि सीमा बजारमा नेरु अभाव छ । भारु मनग्गे छ । जसका कारण भारुलाई नेरुमा सटही गर्दा सर्वसाधारण अतिरिक्त शुल्क तिर्न बाध्य छन् । ‘कोरोना संक्रमणअघिसम्म भारुको माग धेरै थियो,’ काँकडभिट्टाका सटही काउन्टर सञ्चालक चोलानाथ दाहालले भने, ‘अहिले भारु खपत भएकै छैन, जसका कारण भारु लिएर नेरु दिँदा बट्टा लिनु हाम्रो बाध्यता हो ।’ यसअघि सीमावर्ती बजारका सर्वसाधारणले एक हजार भारु लिन १६ सय नेपाली रुपैयाँ दिएर थप ३० रुपैयाँ खर्चनुपर्थ्यो । अहिले एक हजार भारुलाई नेरु बनाउँदा पनि २० रुपैयाँ अतिरिक्त शुल्न लिने गरिएको छ । ‘पहिला नेरुबाट भारु साट्दा थप शुल्क बेहोर्नुपर्थ्यो, अहिले भारुबाट नेरु बनाउँदा थप शुल्क तिर्नुपर्ने अवस्था छ,’ स्थानीय उपभोक्ता गणेशबहादुर बस्नेतले भने, ‘जताबाट पनि सर्वसाधारणलाई नै घाटा ।’

राष्ट्र बैंकका अनुसार भारु सय रुपैयाँ साटेबापत ४० पैसा मात्रै सेवा शुल्क लिन पाउने प्रावधान छ । तर सटही काउन्टरहरूले बैंकको निर्देशन लत्याउँदै आफूखुसी अतिरिक्त शुल्क लिँदै आएका छन् । ‘भारुबाट नेरु साट्दा पनि अतिरिक्त शुल्क लिन पाइँदैन,’ राष्ट्र बैंकका एक कर्मचारीले भने । नाका बन्द भएपछि अहिले भारुको माग नै नरहेको नेपाल राष्ट्र बैंकका कर्मचारी दिपेन बरालले बताए ।

प्रकाशित : आश्विन ६, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?