२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विद्यार्थी नेता र प्रहरीकै सहयोगी ‘असुली धन्दा’मा

जितेन्द्र साह

विराटनगर — साउन १६ मा विराटनगरका एक व्यवसायीको घरमा गोली प्रहारको घटनासँगै खुलासा भएको रकम असुली गर्ने गिरोहका ६ सदस्यमध्ये दुई जनाको आबद्धता सतारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुसँग देखिएको छ । लकडाउनका बेला अनेरास्ववियुका केन्द्रीय सदस्य वसिम आलमले विराटनगरमा सञ्चालन गरेको असहायलाई निःशुल्क खाना खुवाउने अभियानमा पनि उनीहरू सक्रिय थिए ।

विद्यार्थी नेता र प्रहरीकै सहयोगी ‘असुली धन्दा’मा

प्रहरीका अनुसार यो गिरोहले स्थानीय मध्यमवर्गीय व्यवसायीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुली गरिरहेको थियो । ‘जिम्मेवार विद्यार्थी नेता र युवा यसमा संलग्न देखिए,’ मोरङका एसपी सन्तोष खड्काले भने ।

अनुसन्धान अन्तिम चरणमा पुग्दा यो गिरोहलाई पेस्तोल र गोली बिक्री गर्ने विराटनगर–१२ का २६ वर्षीय विद्यार्थी नेता विकास महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले कटहरी गाउँपालिका–२ आदर्शनगर बस्तीका २६ वर्षीय किसन साह, २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक रोय, विराटनगर बस्ने सप्तरीका २७ वर्षीय नन्दकिशोर साह र विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलका कामदार भारत, विहारका २७ वर्षीय राजु साहलाई पक्राउ गरेको थियो । उनीहरूबाट स्वचालित पेस्तोल तथा तीन थान गोली पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार महतो र रोय उच्चपदस्थ प्रहरी एवं नेताहरूका कार्यक्रममा समेत सहभागी हुने गरेको पाइएको छ । उनीहरू प्रदेश १ का मुख्यमन्त्री, मन्त्री, सभासद, सांसद र वरिष्ठ नेतासँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्थे । पक्राउ पर्नुअघिसम्म महतो प्रहरीकै सहयोगीका रूपमा चिनिने गरेको स्रोतले जनाएको छ । सीमावर्ती रानीस्थित इलाका प्रहरी कार्यालयले महतोलाई कदर–पत्र पनि प्रदान गरेको थियो ।

प्रहरीका अनुसार महतो र रोय ठेक्कापट्टा कार्यमा समेत संलग्न थिए । महतो अनेरास्ववियु मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य एवं पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) क्याम्पस कमिटीका अध्यक्ष हुन् । रोय पनि अनेरास्ववियुको महानगर कमिटी उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

यसअघि पनि सामाजिक कामका लागि भन्दै व्यापारीसँग चन्दा माग्ने यो समूहले संगठित रूपमा असुली धन्दा चलाएको देखिएको एसपी खड्काले बताए । व्यवसायीलाई धम्क्याउने प्रयोजनका लागि महतोले नै रोयलाई झूटो विवरण भरेर सिमकार्ड उपलब्ध गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार गिरोहका नाइके रोयलाई महतोले पेस्तोल र ६ थान गोलीसमेत उपलब्ध गराएका थिए । यसबापतको एक लाख रुपैयाँ रोयले एक व्यापारीबाट पाँच लाख रुपैयाँ असुलेपछि महतोलाई बुझाएका थिए । रोय यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेर कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

महतोले मनीष नामका एक भारतीयबाट विराटनगर, कोसी प्रोजेक्टको रक्सी पसलमा हतियार र गोली किनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोयको गिरोहले २६ असारमा विराटनगरस्थित खाद्यान्न एवं गुट्खा डिलरका एक व्यापारीलाई ज्यान मार्ने धम्की दिएर दुईपटकमा गरी ५ लाख रुपैयाँ असुलेको थियो । यो घटनापछि साउन १६ को बेलुकी ९ बजेतिर विराटनगरमा गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी गरेको थियो । बुझ्दै जाँदा रकम दिन नमानेका व्यापारीको निवासको पर्खालमा उक्त गिरोहले गोली प्रहार गरेको खुल्यो । त्यसै क्रममा प्रहरीले रविन शर्माको कटहरी–२ आदर्शनगरस्थित घरबाट अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गर्‍यो ।

एकपछि अर्को गर्दै पक्राउ परेका उनीहरूबाट ९७ हजार २ सय २० रुपैयाँ, विभिन्न कम्पनीका १६ मोबाइल सेट, दुई भारतीय बैंकका चेक, घटनामा प्रयोग भएका तीन थान मोटरसाइकल र एक थान चक्कुसमेत बरामद भएको छ । उनीहरूले रकम जम्मा गरेको बैंक खाता प्रहरीले सिज गरेको छ ।

प्रहरीका अनुसार गिरोहका सदस्य नन्दकिशोरले हुलिया बदल्न सुनसरीको इटहरीबाट २० हजार रुपैयाँमा नक्कली कपाल किनेका थिए । तालु खुइलिएका उनी व्यवसायीलाई धम्क्याउन जाँदा असली रूपमा र अरू बेला नक्कली कपाल लगाएर घुमफिर गर्थे ।

नन्दकिशोर र रोयले असुलीको रकम संकलन गर्ने र रविनले रकम दिन नमान्नेको घरमा गोली प्रहार गर्ने गरेको प्रहरीले जनाएको छ । रोयले फोनबाट ज्यान मार्ने धम्की दिँदै विराटनगरका दुई व्यापारीसँग ५/५ लाख रुपैयाँको दरले रकम मागेका थिए । पहिलो व्यापारीले रकम दिए पनि अर्काले प्रहरीलाई खबर गरेपछि गिरोहका सदस्यहरू पक्राउ परेका हुन् ।

उनीहरूले असुलीसँगै १५ भदौमा चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरीसमेत गरेको प्रहरीले जनाएको छ । उक्त पसलका कामदार राजुकै सहयोगमा चोरीको योजना बनाइएको थियो । पक्राउ परेकाहरूविरुद्ध प्रहरीले हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा संगठित अपराध मुद्दामा कारबाही अगाडि बढाएको छ ।

प्रहरीका अनुसार महतो र रोय अनेरास्ववियु केन्द्रीय सदस्य आलमसमेत आबद्ध एक निर्माण कम्पनीबाट ठेक्कापट्टाको काम गर्थे । पूर्वमन्त्री लालबाबु पण्डित विराटनगर आउँदा आलमसँगै रोय र महतो पनि रहने गरेको स्रोतले जनायो । आलमले भने आफ्नो राजनीतिक करियर समाप्त पार्न नेकपाभित्रकै विरोधी गुटले आफूविरुद्ध गलत हल्ला फैलाएको दाबी गरे । पक्राउ पर्नुअघिसम्म रोय र महतो अपराधमा संलग्न रहेको आफूलाई समेत थाहा नभएको उनको भनाइ छ । ‘रोय बदमास चरित्रका भए पनि महतोका बारेमा अहिलेसम्म नराम्रो सुनेको थिइनँ,’ आलमले भने, ‘महतोलाई रोयले फसाएको मेरो अनुमान छ ।’ तर, एसपी खड्काले सारा प्रमाण फेला परेपछि मात्र महतोलाई पक्राउ गरिएको बताए ।

आलममाथि पनि जबरजस्ती असुलिएको रकम नै निःशुल्क भोजन अभियानमा खर्चिएको आरोप छ । तर, उनले अभियानको आर्थिक स्रोतको एकएक हिसाब राखेको दाबी गरेका छन् । ‘नागरिकले उपलब्ध गराइरहेको सहयोगले सामाजिक सहायताको अभियान चलिरहेको छ,’ उनले भने, ‘नागरिकबाटै चामल, दाल, नुन, तेल, तरकारी र मसला प्राप्त भइरहेको छ ।’

प्रकाशित : आश्विन ४, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?