पहिरोले मेरिङदेन सडक अवरुद्ध

आनन्द गौतम

ताप्लेजुङ — वर्षासँगै बुधबार राति झरेको पहिरोले मेरिङदेन सडक अवरुद्ध भएको छ । सदरमुकाम फुङलिङबाट मेरिङदेन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङ जाने सडक अवरुद्ध बनेको स्थानीय गजेन्द्र सामेखामले बताए । यो सडकखण्डको खाम्लुङ सिम्लेभिरमा पहिरो झरेको छ ।

पहिरोले मेरिङदेन सडक अवरुद्ध

आसपास पहिरो पन्छाउने मेसिन नभएको र मानिसले पन्छाउन सक्ने अवस्था नरहेको सामेखामको भनाइ छ । सदरमुकाम फुङलिङबाट हाङदेवा–मित्लुङ–सिंवा हुँदै फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक जोड्ने सडकसमेत पहिरोको जोखिममा छ । मध्य तमोर जलविद्युत् आयोजनाले उक्त सडकको फुङलिङ नगरपालिका–१० फुरुम्बुको हाङदेवा क्षेत्र अत्यन्तै जोखिमपूर्ण भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न सूचना जारी गरेको छ । यो सडकको रेखदेख र मर्मत आयोजनाले गर्दै आएको छ ।

यो सडकखण्डको माथि ठूलठूला ढुंगा झर्ने अवस्थामा रहेको र तल्लो भाग पनि बग्न सुरु भएकाले यातायात सञ्चालनमा वैकल्पिक व्यवस्था गरिदिन आग्रह गरिएको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । पहिला फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक आउजाउमा सुकेटार–गडीडाँडा–लिंखिम–छिरुवा सडक प्रयोग हुन्थ्यो । सिंवाखण्डको सडक जोडिएपछि गत वर्षदेखि यो सडक प्रयोगमा आएको छ ।


यो सडकखण्ड चार घण्टा छोटो भएकाले व्यवसायी तथा यात्रुले यसैको प्रयोग गर्छन् । यो सडक भएर जिल्लाको उत्तरी लिंखिम, फुरुम्बु, सावादिन, खेजेनिम, इखावु, लेलेप, तापेथोक, ओलाङचुङगोला, घुन्साका बासिन्दाले यात्रा गर्छन् । कञ्चनजंघा क्षेत्र जाने सडक पनि यही हो ।

प्रकाशित : आश्विन १, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?