१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झापामा यस वर्ष ९ वटा बीओपी थपिँदै

पर्वत पोर्तेल

भद्रपुर/झापा — सीमा सुरक्षामा खट्दै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ । सशस्त्र प्रहरीको नम्बर २ हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमासुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको जनाए ।

झापामा यस वर्ष ९ वटा बीओपी थपिँदै

उनका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा तथा दक्षिणतिरका सतीघट्टा, ज्यामिरगढी, भद्रपुरको मेची पुलआसपास, महेशपुर, पाठामारी, पन्थापाडा र गौरदाहको आँपगाछीमा बीओपी थपिनेछ । काँकडभिट्टाको सशस्त्र प्रहरी राजस्व गुल्मलाई यसै वर्ष बीओपीमा परिणत गरिसकिएको छ ।

यसअघि बाहुनडाँगी, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुन्जीबारी, गौरीगन्ज र टाघनडुब्बामा बीओपी स्थापना भइसकेका छन् । एसपी पाण्डेले तीन वर्षभित्र झापाका ३७ नाकामा बीओपी स्थापना गर्ने सरकारको लक्ष्य रहेको जनाए ।

बीओपी स्थापनाका लागि कम्तीमा सात बिघा जमिन आवश्यक पर्ने भएकाले केही स्थानमा जमिन खोजी भइरहेको उनले बताए । ‘जमिन टुंगो लाग्नेबित्तिकै धमाधम पोस्ट राख्न थाल्नेछौं,’ उनले भने । बीओपी थपिएपछि खुला सीमाको फाइदा उठाएर हुने चोरी–तस्करी, हातहतियार, लागू पदार्थ ओसारपसार, मानव बेचबिखनजस्ता आपराधिक गतिविधि नियन्त्रण हुने पाण्डेले दाबी गरे ।

झापामा १ सय ४४ किलोमिटर खुला सीमाक्षेत्र छ । दक्षिणी भेगमा भारतको विहार र पूर्वी भेगमा पश्चिम बंगाल राज्यसँग साँधसीमा जोडिएको छ । खुला सीमाका कारण नेपाली सुरक्षाकर्मीलाई अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणमा चुनौती हुँदै आएको थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैतयता झापाका विभिन्न नाकामा १ सय ३६ वटा अस्थायी पोस्ट खडा गरिएका थिए । अहिले धेरैजसो पोस्ट मर्ज भएका छन् । हाल ३९ नाकामा मात्रै अस्थायी पोस्ट छन् ।

प्रकाशित : भाद्र २९, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?