चन्द समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

चन्द समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिवार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । यसअघि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्तिमोर्चाको केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु झापाको दमकबाट पक्राउ परेका थिए । उनीहरुले चन्द समूह छोडेको प्रेस विज्ञप्ति प्रकाशित गरिसकेका छन् । अहिले उनीहरु झापा अदालतमा मुद्दा खेपिरहेका छन् भने सत्तारुढ नेकपाले पार्टी प्रवेश गराएको छ ।

त्यसपछि सेक्रेटरीको जिम्मेवारी पाएका किशोर भने ताप्लेजुङबाटै पक्राउ परेका हुन् । उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ । पहिला केही सक्रिय रहेको चन्द समूहले अहिले आफ्ना कार्यकर्ता पक्राउलगायतको जानकारी गराउन छोडेको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा कोरोनाले ८५ वर्षीया महिलाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो ।

चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो ।

‘क्यान्सरको पुरानो समस्या थियो । ११ गते स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा १५ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनको आज बिहान निधन भयो,’ तिवारीले भने । यससँगै कोरोनाका कारण चितवनमा २८ जनाको निधन भएको छ । जसमध्ये १७ जना चितवनकै छन् । अरू उपचारका लागि भरतपुरका विभिन्न अस्पताल आएका बाहिरी जिल्लाका व्यक्तिहरू हुन् ।

प्रकाशित : भाद्र २८, २०७७ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×