छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता 

चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न आर्थिक वर्ष २०७७/७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममै बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवासमेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको उपाध्यक्ष तारा ढकालले बताइन् । यो कार्यक्रमले एकल पुरुषलाई ठूलो राहत मिलेको उनको भनाइ छ । सन्तान नभएका एकल पुरुषका लागि यो कार्यक्रम थप प्रभाबकारी भएको गाउँपालिकाको भनाइ छ ।

आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष उमेर पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि राज्यले एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । विपन्न तथा एकल पुरुषका लागि केन्द्र सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकिरहेको बेला आफूहरुले एकल पुरुषलाई राहत पुग्ने गरी नेपालमै पहिलो पटक यस्तो कार्यक्रम लागु गरेको अध्यक्ष लिम्बूले दाबी गरे ।

गाउँपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार दिनुको साथै लौरो उपहार कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विभिन्न प्रकारका दीर्घरोगीलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म उपचारका लागि आर्थिक सहयोग दिइँदै आएको गाउँपालिकाले जनाएको छ । ‘विपन्न परिवारका लागि नि:शुल्क मिटर बक्स तथा जस्तापातालगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको जनाएको छ । जटिल प्रकृतिका बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैले उद्धार गरी उपचारमा सहयोग पनि गर्दै आएका छन् ।

विवाहपछि कारणवश एकल भएका पुरुषलाई यस्तो भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । वुढ्यौली उमेरसम्म विवाह नगरी बसेका एकल पुरुषले पनि यो सुविधा पाउनेछन् । यस्ता एकल पुरुषको संख्या प्रत्येक वर्ष थपघट भइरहने भएकाले त्यसका लागि वडा कार्यालयमार्फत संख्या निक्र्यौैल गरिने अध्यक्ष लिम्बूले बताए । कार्यक्रम सुरु भएको पहिलो वर्ष वार्षिक ५ हजार रुपैयाँका दरले भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम प्रभावकारी भए आगामी वर्षबाट भत्ताको रकम बढाएर मासिक रुपमै वितरण गपरने अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रकाशित : भाद्र २५, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

तमोर नदीमा पाैडी खेल्न गएका दुई किशोर बेपत्ता

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गास्थित तमोर नदीको प्याङ्गे दोभानमा पौडी खेल्ने क्रममा दुई जना किशोर बेपत्ता भएका छन् । आठराई गाउँपालिका–५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीमा डुबेर गत राति बेपत्ता भएका हुन् ।

तमोर नदी किनारमा रहेको आँप बगानमा स्थानीय ६ युवा आँप खान गएका थिए । आँप खाएर तमोर नदीमा पौडी खेल्न गएका ६ जनामध्ये दुई जना किशोर बेपत्ता भएको इलाका प्रहरी कार्यालय आठराई संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थानदारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता किशोरहरुको खोजीका लागि छातेढुंगा र चुहानडाँडा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक थानदारले जानकारी दिए । नदीमा किशोर बेपत्ता भएकोबारे तमोर नदीसँग सिमा जोडिएका जिल्लाहरु पाँचथर, धनकुटा, सुनसरी र उदयपुरका प्रहरीलाईसमेत खबर गरिएको तेह्रथुम प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०७७ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×