उदयपुरमा पालिकाहरू मिलेर ‘कोभिड अस्पताल’ बनाउँदै

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा ‘कोभिड अस्पताल’ निर्माण थालिएको छ । अस्पताल बनाउन जिल्लाका विभिन्न स्थानीय तहले लगानी गरेका छन् ।

उदयपुरमा पालिकाहरू मिलेर ‘कोभिड अस्पताल’ बनाउँदै

अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा दुई सातायता ३ करोड १२ लाख रुपैयाँ लागतमा ‘स्टिल फ्रेम स्ट्रक्चर’को अस्पताल भवन बन्दै छ । १४ कोठे भवनमा ४० शय्या रहने जनाइएको छ ।

स्थानीय स्तरमै संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको नगरप्रमुख खगेन्द्र राईले बताए । ‘अस्पताल ८ बेड भेन्टिलेटरसहित सुविधासम्पन्न हुनेछ,’ उनले भने, ‘ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी र डाक्टर रुमको व्यवस्था गरिनेछ ।’

अस्पताल भवन कात्तिक १४ सम्म बन्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागार्इंले बताए । धुलिखेल/सुसम आदित्य/रेग्मी कन्स्ट्रक्सन जेभीले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको हो ।

अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०/१० लाखका दरले ४० लाख लगानी गर्दै छन् । त्यसै गरी स्विस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको नगरप्रमुख राईले बताए ।

‘बाँकी अपुग रकमका लागि स्रोत खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले पनि सघाउने विश्वास लिएका छौं ।’ दुई सातामा मुख्य भवनको ‘प्लिन्ट बिम’सम्मको काम सकिएको चौदण्डीगढी नगरपालिकाका इन्जिनियर सन्तोष राईले बताए । ‘मुख्य भवनको प्लिन्ट बिम, सेप्टिक टयांक र अन्डरग्राउन्ड वाटर ट्यांक निर्माण गरी ५० प्रतिशत काम भइसकेको छ,’ उनले भने ।

निधारित समयमै भवन हस्तान्तरण गरिने कन्स्ट्रक्सन कम्पनीका अमृत खड्काले बताए । ‘अस्पताल निर्माणको काम निर्धारित समयमै सकिन्छ,’ उनले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पताल निर्माण गरिएकाले निर्धारित समयमै काम सक्नु हाम्रो पनि दायित्व हो ।’

अस्पताल बनिरहेको करिब ४ बिघा जमिनमै अहिले आइसोलेसन केन्द्र चलिरहेको छ । एकपटकमा २५ जनाको उपचार गर्न सकिने आइसोलेसनमा अहिलेसम्म ५५ जना संक्रमित निको भएर घर फर्किएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल ३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?