उदयपुरमा पालिकाहरू मिलेर ‘कोभिड अस्पताल’ बनाउँदै- प्रदेश १ - कान्तिपुर समाचार

उदयपुरमा पालिकाहरू मिलेर ‘कोभिड अस्पताल’ बनाउँदै

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा ‘कोभिड अस्पताल’ निर्माण थालिएको छ । अस्पताल बनाउन जिल्लाका विभिन्न स्थानीय तहले लगानी गरेका छन् ।

अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा दुई सातायता ३ करोड १२ लाख रुपैयाँ लागतमा ‘स्टिल फ्रेम स्ट्रक्चर’को अस्पताल भवन बन्दै छ । १४ कोठे भवनमा ४० शय्या रहने जनाइएको छ ।

स्थानीय स्तरमै संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको नगरप्रमुख खगेन्द्र राईले बताए । ‘अस्पताल ८ बेड भेन्टिलेटरसहित सुविधासम्पन्न हुनेछ,’ उनले भने, ‘ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी र डाक्टर रुमको व्यवस्था गरिनेछ ।’

अस्पताल भवन कात्तिक १४ सम्म बन्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागार्इंले बताए । धुलिखेल/सुसम आदित्य/रेग्मी कन्स्ट्रक्सन जेभीले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको हो ।

अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०/१० लाखका दरले ४० लाख लगानी गर्दै छन् । त्यसै गरी स्विस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको नगरप्रमुख राईले बताए ।

‘बाँकी अपुग रकमका लागि स्रोत खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले पनि सघाउने विश्वास लिएका छौं ।’ दुई सातामा मुख्य भवनको ‘प्लिन्ट बिम’सम्मको काम सकिएको चौदण्डीगढी नगरपालिकाका इन्जिनियर सन्तोष राईले बताए । ‘मुख्य भवनको प्लिन्ट बिम, सेप्टिक टयांक र अन्डरग्राउन्ड वाटर ट्यांक निर्माण गरी ५० प्रतिशत काम भइसकेको छ,’ उनले भने ।

निधारित समयमै भवन हस्तान्तरण गरिने कन्स्ट्रक्सन कम्पनीका अमृत खड्काले बताए । ‘अस्पताल निर्माणको काम निर्धारित समयमै सकिन्छ,’ उनले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पताल निर्माण गरिएकाले निर्धारित समयमै काम सक्नु हाम्रो पनि दायित्व हो ।’

अस्पताल बनिरहेको करिब ४ बिघा जमिनमै अहिले आइसोलेसन केन्द्र चलिरहेको छ । एकपटकमा २५ जनाको उपचार गर्न सकिने आइसोलेसनमा अहिलेसम्म ५५ जना संक्रमित निको भएर घर फर्किएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल ३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

बेलैमा ध्यान दिए आत्महत्या रोक्न सकिन्छ

विज्ञ भन्छन्- ‘ जारी संकटको वास्तविकता स्विकार्ने, विकल्प खोजी गर्ने र समस्या अरुसँग साटासाट गर्ने बानीले तनाव कम गराउँछ । मनमै कुरा खेलाएर बस्ने बानीले हानि गर्छ ।’
जनकराज सापकोटा, सुदीप कैनी

काठमाडौँ — तारकेश्वर नगरपालिका–५ लोलाङका ४७ वर्षीय यदुप्रसाद सापकोटाले गत सोमबार प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ‘निषेधाज्ञाले गरी खान गाह्रो भएको’ समस्याबारे सादा कापीमा लेखे र त्यसको फोटो खिचेर फेसबुकमा पोस्ट गरे । स्टाटस पोस्ट गरेकै राति १० बजेतिर उनी आफ्नै घरको भान्सामा झुन्डिएको अवस्थामा फेला परे । 

घर नजिकै मासिक झन्डै ८० हजार भाडा तिर्ने गरी हार्डवेयर पसल सञ्चालन गरेका सापकोटा ६ महिनायता व्यापार ठप्पै हुँदा र बजारबाट पैसा नउठ्दा आपत्मा थिए । उनका दाइ उद्धवका अनुसार यदुले बजारबाट मात्रै एक करोड ७७ लाखभन्दा धेरै पैसा उठाउन बाँकी छ । लकडाउनअघि मात्रै घर विस्तार गर्न जग्गा किनेका यदु व्यापार ठप्प हुँदा चिन्तामा थिए । आत्महत्याको प्रारम्भिक अनुसन्धानमा खटिएका महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर गम्भीरजंग थापाले ‘फ्रस्टेसन’ का कारण उनले आत्महत्या गरेको अनुमान गरे ।

कोरोना महामारीसँगै सुरु भएको लकडाउन र निषेधाज्ञाबाट सिर्जित आर्थिक, सामाजिक असरको सोझो प्रभाव गरिखाने वर्गको मनोविज्ञानमा परेको छ । त्यसलाई सम्हाल्न नसक्दा कोहीले आत्महत्याकै बाटो रोजेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत १० देखि साउन ४ गतेसम्म झन्डै ५ महिनामा २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । अर्थात् कोरोना संक्रमण बढेपछि दिनमा औसत १९ जनाले आत्महत्या गरिरहेका छन् ।

मनोचिकित्सकहरू संसारभर नै महामारीका बेला आत्महत्याको दर बढ्ने गरेको बताउँछन् । काठमाडौं विश्वविद्यालयका मनोचिकित्सा विभागका सहप्राध्यापक एवं मनोचिकित्सक अजय रिसालका अनुसार आत्महत्याको दरबाट महामारीका बेला समाजको मनो सामाजिक अवस्था बुझ्न सकिन्छ । उनले विगतमा सार्स, मर्सदेखि हैजाजस्ता महामारीका बेला पनि आत्महत्याको दर बढेको बताए । ‘आत्महत्याबारे खुलेर कुरा गर्दा आत्महत्या बढ्छ भन्ने गलत बुझाइ समाजबाट नहटाएसम्म यसबारे सकारात्मक पहल चाल्न सजिलो हुँदैन,’ उनले भने, ‘एकअर्कासँग खुलेर कुरा गर्दा मनभित्र गुम्सिएका हीनता प्रस्फुटन भई मन हलुँगो हुन्छ । व्यक्तिभित्र भएका हीनता बाहिर ल्याउन पनि खुलेर कुरा गर्नुपर्छ । यस्तो अभ्यासले हीनता बाहिर आउने भेन्टिलेसनको काम गर्छ ।’

रिसालले सन् २०१३ मा आत्महत्याको प्रयास गर्ने प्रवृत्तिबारे काभ्रेको धुलिखेल अस्पतालमा आउने घटनाहरूबारे अध्ययन गरेका थिए । ६ महिने त्यो अध्ययनका क्रममा ७३ वटा आत्महत्या प्रयाससम्बन्धी केस अस्पतालमा आएका थिए । सहप्राध्यापक रिसालले आत्महत्याको प्रयास गर्नेको संख्यामा नेपाल दक्षिण एसियामै अगाडि नै रहेको बताउँछन् । ‘आत्महत्याको अन्तिम निर्णय लिनुपूर्व व्यक्तिले कैयन् संकेत छाड्ने गर्छन् । समयमै परिवारका सदस्यले वा नजिकका साथीभाइले त्यसलाई बुझेर गम्भीर पहल गर्ने हो भने आत्महत्या टार्न सकिन्छ ।’ रिसालको भनाइमा गणना हुने आत्महत्याको बढ्दो संख्या मात्रै नभएर आत्महत्याको प्रयाससम्बन्धी घटनालाई पनि गम्भीरताका साथ हेरिनुपर्छ ।

मनोचिकित्सक रिसालले कोरोना संक्रमणको समयमा मानसिक समस्याका कारण नित्य औषधि सेवन गरिरहेका कैयन्ले औषधि समयमै नपाएर वा फलोअप जाँच गर्न नपाएर पनि थप समस्या बल्झिएको हुन सक्ने बताए । मानसिक समस्यासँग सम्बन्धित कैयन् औषधि चिकित्सकको सिफारिसबिना पनि नपाइँदा आत्महत्याको दर बढ्न सक्ने भएकाले त्यतातिर सचेत हुनुपर्ने उनले बताए । भने, ‘महामारीको अन्त्य भएपछि गतिला दिन आउँछन्, अवस्था सुध्रिनेछ भनेर इतिहासबाट सिक्नुपर्छ ।’

मनोविज्ञ मधुविलास खनालले अब केही पनि गर्न सकिँदैन कि, बर्बाद भइयो कि भन्ने खालको बैचनीपूर्ण मनोविज्ञानले पनि आत्महत्यातर्फ धकेल्ने गरेको हुन सक्ने बताए । कमाएर खाने र खुवाउने वर्ग मात्रै नभएर बालबालिका र किशोरकिशोरीको मनोविज्ञानमा पनि जारी कोरोना संकट र यससँगै सिर्जित सामाजिक समस्याले गम्भीर असर पार्न सक्ने उनको भनाइ छ । उनले जारी संकट एक व्यक्तिका कारण सिर्जना नभएकाले मनमै कुरा खेलाएर बस्ने बानीले हानि गर्ने बताए । उनले भने, ‘जारी संकटको वास्तविकता स्विकार्ने, विकल्प खोजी गर्ने र आफ्ना समस्या अरूसँग साटासाट गर्ने बानीले पनि तनाव कम गराउन सक्छ ।’

प्रकाशित : भाद्र २५, २०७७ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×