१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बिरामीलाई स्ट्रेचर र ट्रयाक्टरको भर

पालिकाहरूले विभिन्न बहानामा एम्बुलेन्स खरिदमा ढिलाइ गर्दा बिरामीहरूले सास्ती भोग्नुपरेको छ
एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरका साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीले स्ट्रेचर र ट्रयाक्टरको भर पर्नुपरेको छ ।

बिरामीलाई स्ट्रेचर र ट्रयाक्टरको भर

पालिकाहरूले विभिन्न बहानामा एम्बुलेन्स खरिदमा ढिलाइ गर्दा बिरामीहरूले सास्ती भोग्नुपरेको हो ।

एम्बुलेन्स अभावले बिरामीलाई समयमै अस्पताल लैजान नसक्दा कतिपयको बाटैमा मृत्यु हुने गरेको छ । ‘सडक पुगे पनि ट्रयाक्टर मात्रै कुद्छन्, गाउँमा कोही बिरामी पर्‍यो भने मान्छे भेला पारेर स्ट्रेचरबाट लैजानुपर्छ,’ साल्पासिलिछो गाउँपालिका–४, खाटम्माका तारा राईले भनिन्, ‘न एम्बुलेन्स छ न त अस्पताल नै, यसरी कच्ची र अप्ठ्यारो बाटोबाट बिरामी लैजाँदा बिरामीको बाटैमा ज्यान पनि जाने गर्छ ।’ नजिकै अस्पताल पनि नहुँदा संखुवासभाको खाँदबारी जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।

जिल्लाका अन्य पालिकाका विकट भेगमा पनि अवस्था उस्तै छ । गाउँगाउँमा सडक पुगे पनि अव्यवस्थित हुँदा एम्बुलेन्स सञ्चालन हुन सकेको छैन । त्यसैले दुर्गम भेगका स्थानीयलाई अझै स्ट्रेचरकै भरमा बिरामी अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको हतुवागढी गाउँपालिका–२, रानीबासका शम्भु राईले बताए ।

हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक, अरुण गाउँपालिकाले मात्रै एम्बुलेन्स ल्याएका छन् । जिल्लाका दोभाने, तिम्मा, मानेभन्ज्याङ, सानोदुम्मा, ठूलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटारलगायत क्षेत्रका सर्वसाधारणलाई अझै पनि उपचार गर्न घण्टौं हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

जिल्ला अस्पतालका दुई एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । अस्पतालमा एम्बुलेन्स नहुँदा सदरमुकामलगायत आसपासका क्षेत्रबाट इन्डियन वेल्फेयर र नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने गरेका छन् ।

कोभिड–१९ का कारण नयाँ एम्बुलेन्स खरिद प्रक्रिया रोकिएको र चाँडै प्रक्रिया अघि बढाउने साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए । ‘एम्बुलेन्सले सेवा दिन नसक्दा गाउँपालिकावासी सास्ती खेप्न बाध्य भएका छन्,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्रै गाउँपालिकामा एम्बुलेन्स आइसक्छ ।’

प्रकाशित : भाद्र २२, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?