कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुनसरीमा बिहान १० बजेसम्म पसल खोल्न पाइने

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा बिहीबारदेखि १० बजेसम्म पसल खोल्न पाइने भएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।

जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । एकैस्थानमा जम्मा भइ भेला हुन, जुलुस, सम्मेलन, गोष्ठी, भोजभतेर, हाटबजार, मेला उत्सव, पार्टी आयोजना गर्न प्रतिबन्धलाई भने कायम नै राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलका अनुसार कोरोनाको महामारीमा स्वास्थ्य प्रोटोकल पालना गर्दै अर्को निर्णय नभएसममका लागि केही खुकुलो बनाइएको हो । प्रजिअ पोखरेलले भने, ‘कोरोना संक्रमण थप फैलिन सक्ने भएकाले पूर्णरुपमा निषेधित क्षेत्र खोलिएको छैन । स्वास्थ्य प्रोटोकल पालना गर्दै जिल्ला भरका पसलहरु बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ । तर, नियमित सञ्चालन हुने हाट बजारहरु, सैलुन, ब्युटिपार्लर, स्पा, व्यायमशाला जस्ता व्यवसायहरु भने सञ्चालन गर्न पाइने छैन ।’

उनले बिहान १० बजेसम्म पसल खोल्न दिएपनि स्वास्थ्य प्रोटोकल अनुसार भिडभाड हुन नदिन दुईमिटरको फरकमा गोलो घेराको प्रबन्ध मिलाउने, अनिवार्य मास्क र पञ्जा प्रयोग गर्नुपर्ने, सर्वसाधारणले देख्‍ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने, डिपार्टमेन्ट स्टोरहरुले गेटमा थर्मल गनले ग्राहकको तापक्रम नाप्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘होटल रेष्टुराको हकमा त्यही बसेर भेटघाट हुने खाने गतिविधि गर्न पाइने छैन तर अनलाइन अर्डरमा होम डेलिभरी गर्न पाउने र ग्राहक स्वयंम आएर प्याकिङ गरेर घर लैजान भने पाउनेछन् ।’ भिडभाड नहुने गरी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था भने खोल्न पाउने निर्णय भएको प्रजिअ पोखरेलले बताए ।

सवारी साधनको हकमा स्वास्थ्य मापदण्ड पुरा गरेर दुईजना भन्दा बढी यात्रु बोक्न नपाउने गरी जोरविजोर प्रणाली अनुसार सिटि सफारी (ई रिक्सा) मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?