कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

माथिल्लो रावाखोलाको बिजुली केन्द्रीय लाइनमा जोडियो

डम्बरसिं राई

खोटाङ — माथिल्लो रावाखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउँपालिकाको रावाखोलामा उत्पादित तीन मेगावाट विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो ।

माथिल्लो रावाखोलाको बिजुली केन्द्रीय लाइनमा जोडियो

उक्त विद्युत् रावा इनर्जी डेभलपमेन्ट प्रालिले उत्पादन गरेको हो । केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको बीचमा पर्ने रावाखोलामा उत्पादित विद्युत् भदौ १५ गते केन्द्रीय लाइनमा जोडिएको आयोजनाका प्रवर्द्धक मुक्ति तिमिल्सेनाले बताए । ‘भदौ १६ देखि नेपाल विद्युत् प्राधिकरणले मिटर सिल पनि गरिसकेको छ,’ उनले भने ।

केपिलासगढी–४ बाक्सिलामा सब–स्टेसन बनाएर गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइनअन्तर्गत बुइपा सब–स्टेसनमा जोडिएको हो । रावा खोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट २१ सय मिटर लामो पाइपलाइन मार्फत सुङदेलकै दाम्कुबेंसीमा खसाएर विद्युत् उत्पादन गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत र प्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करिब ६० करोडको लागतमा उक्त आयोजना सम्पन्न भएको तिमिल्सेनाले सुनाए । २०७३ सालदेखि कन्स्ट्रक्सनको काम थालिएको यो आयोजना जिल्लामा निजी क्षेत्रबाट सम्पन्न सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो ।

प्रकाशित : भाद्र १७, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?