कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बन्दाबन्दीमा कम्प्युटर सिक्दै शिक्षक

अर्जुन राजवंशी

बिर्तामोड — भवानी राजवंशी अचेल विद्यालयको कम्प्युटर ल्याबमा स्वास्थ्य विषयको ‘स्लाइड’ बनाउन व्यस्त छन् । अवकास हुन ११ महिना मात्र बाँकी रहँदा विद्यार्थीलाई प्रोजेक्टरमार्फत पढाउन मिल्ने गरी उनले पाठ्यसामग्री कम्प्युटरमा तयार गरिरहेका हुन् ।

बन्दाबन्दीमा कम्प्युटर सिक्दै शिक्षक

४० वर्षको शिक्षण पेसा उनले कम्प्युटर नजानेरै बिताए । कोभिड–१९ को महामारीका कारण विद्यालय बन्द रहेको समय उनका लागि कम्प्युटर सिक्ने उत्तम अवसर बन्यो । माउस समाउन नजान्ने राजवंशी अहिले स्लाइड बनाउँदा गर्नुपर्ने सामान्य डिजाइनसमेत आफैले गर्न सक्ने भएका छन् । राजवंशीसँगै बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयका ३३ जना शिक्षकले बन्दाबन्दीको अवस्थालाई क्षमता विकासमा खर्चिएका छन् ।

३६ शिक्षकमध्ये ३ जनामात्र कम्प्युटर चलाउन सक्ने थिए । कोभिडका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यालयका सबै शिक्षक असार ११ देखि दैनिक २ घण्टा कम्प्युटर सिकिरहेका छन् । विद्यालयको ल्याबमा २४ वटा कम्प्युटर छन् । उनीहरु दैनिक बिहान साढे १० देखि मध्याह्न साढे १२ बजेसम्म कम्प्युटर चलाउन सिक्ने गरेका छन् । उनीहरुलाई विद्यालयकै जान्ने ३ जना शिक्षकले पालैपालो कम्प्युटर सिकाउने गरेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।


कम्प्युटर सिकेपछि विद्यार्थीलाई पढाउन र सिकाउन सहज हुने बताउँछिन् शिक्षिका रिता खड्का । बाल विकास पढाउने उनले यसअघि कहिल्यै कम्प्युटर चलाएकी थिइनन् । ‘साना नानीहरुलाई मुखले बोलेर सिकाउन साह्रै गाह्रो हुन्थ्यो । अब प्रोजेक्टरमार्फत विभिन्न चित्र देखाउँदै पढाउँदा सजिलो हुन्छ,’ उनले भनिन् । विद्यार्थीलाई पढाउन अझ अफ्ठ्यारो हुन्थ्यो शिक्षिका सिर्जना पौडेललाई । उनी सुस्त श्रवण भएका विद्यार्थीलाई पढाउने शिक्षिका हुन् । ‘बोलेको सुन्दैनन् । साङ्केतिक भाषाबाट मात्र सबै कुरा बुझाउन गाह्रो हुन्छ,’ पौडेलले भनिन, ‘अब कम्प्युटरमा स्लाइड बनाएर प्रोजेक्टरमार्फत चित्र देखाउँदै पढाउदा विषयवस्तु बुझाउन सजिलो हुन्छ ।’ विद्यालयमा २१ जना सुस्त श्रवण भएका विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले यस वर्षदेखि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । ‘उक्त कार्यक्रम चलाउन पनि सबै शिक्षकले कम्प्युटर सिक्न अनिवार्य थियो’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘बन्दाबन्दीको अवस्थामा कम्प्युटर सिकाउन पाएकोले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमले मूर्तरुप लिनेमा हामी विश्वस्त छौं ।’ विद्यालयमा ११ सय विद्यार्थी अध्ययनरत छन् । २६ कोठा रहेको विद्यालयका ६ वटा कोठामा स्मार्ट बोर्ड जडान भइसकेको छ । यस वर्ष थप गरेर कम्तीमा १५ वटा कोठाबाट स्मार्ट कक्षा सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठले बताए । ‘कम्प्युटर सिक्ने समय मिलिरहेकै थिएन । दिनभरि स्कुलमा । बिहान–बेलुका घरधन्दामै ठिक्क हुन्थ्यो,’ शिक्षिका डम्बरकुमारी कार्कीले भनिन् ।


मोहनमायाजस्तै बिर्तामोडकै देवी मावि र दुर्गा माविका शिक्षकले पनि यतिबेला कम्प्युटर चलाउन सिकिरहेका छन् । प्रविधिमैत्री शिक्षण सिकाइ गर्न कोरोना कहरमा कम्प्युटर सिकाइ शिक्षकहरुका लागि दुर्लभ अवसर भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । यही बेला कम्प्युटर सिकेर हल्दिबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षकले विद्यार्थीका लागि मूल्यांकन रिपोर्ट समेत तयार गरेका छन् । १३ जना शिक्षकले विद्यालयमै तीन हप्ता कम्प्युटर सिकेर विद्यार्थीको विषयगत रिपोर्ट तयार गरेको प्रधानाध्यापक मदन पोखरेलले जानकारी दिए ।

प्रकाशित : भाद्र १६, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?