१५ दिनका लागि भोजपुर प्रवेशका नाकाहरु सिल

एलिसा श्रेष्ठ

भोजपुर — कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भोजपुरका सबै सीमा नाका सिल गरिएको छ ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले सबै सीमा नाकाको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको बताएका छन् ।

यस्तै, जिल्लाभर सञ्चालनमा रहेका साना ठूला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलाई नाकामा निर्मलिकरण गर्ने निर्णय भएको प्रजिअ पुरीले बताए ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भोजपुर नगरपालिका ६ देउरालीमा रहेको क्वारेन्टाइन स्थलमा २० बेड, पर्यटन सूचना केन्द्र टक्सारमा १६ बेड, जिल्ला अस्पतालमा १० बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाका प्रत्येक स्थानीय तहका स्वास्थ्य केन्द्रमा पाँच ओटा अक्सिजन सिलिण्डरसहितको उपचार व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

भोजपुरमा गत वैशाख ११ गते हतुवागढी गाउँपालिकाका १ जना, जेठ २३ गते षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो । भदौ २ गते विराटनगरबाट सरुवा भई भोजपुर आएका ३ प्रहरीमा पनि कोरोना पुष्टि भएको थियो।

प्रशासनले भोजपुर सदरमुकाम र आसपासका मुख्य बजार क्षेत्रमा मास्क प्रयोगलाई अनिवार्य गरेको छ । जोखिम बढेकाले बाटोमा हिंड्ने सर्वसाधरणले मास्क नलगाएको भेटिए न्यूनतम एक सय रुपैयाँ जरिवाना लगाउने निर्णय भएको प्रजिअ पुरीले बताए ।

प्रकाशित : भाद्र १०, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?