२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विराटनगर भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम प्रभावित

विनोद भण्डारी

विराटनगर — विराटनगर भन्सारका सात जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कायालयको दैनिक कार्य प्रभावित भएको छ । जोगवनी नाका हुँदै पछिल्लो समय तेस्रो मुलुकबाट मालबाहक साधन न्यून मात्रामा आएका छन् । तर भारतबाट दैनिक सरदर डेढ सयभन्दा बढी मालबाहक ट्रक आउने गरेका छन् । तिनै ट्रकमा ल्याइएका सामाग्रीको भन्सार जाँच्ने क्रममा कर्मचारीलाई कोरोना भाइरस भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।

विराटनगर भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम प्रभावित

कोरोना संक्रमण पुष्टि भएका सातै जना नायब सुब्बा तहका कर्मचारी हुन् । ‘कार्यालयका सात कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक कार्य प्रभावन हुने नै भयो,’ अधिकृत गोपी उप्रेतीले भने, ‘बाँकी रहेका कर्मचारीले अत्यन्तै सर्तकता अपनाएर भन्सार जाँच गर्न गरिरहेका छौं ।’

तर सात जना कर्मचारीमा कोरोना संंक्रमण देखिएपछि बाँकी रहेका कर्मचारीमा भागाभाग भएपछि आयातित सामानको भन्सार जाँच नै प्रभावित भएको एक भन्सार एजेन्टले बताए । कर्मचारीहरु सामान जाँच्नै मान्दैनन् । ती एजेन्टले भने, ‘कर्मचारीले सामान जाँचमा आलटाल गरेपछि एजेन्टहरु पनि भन्सार नै जान छाडेका छन् ।’

‘भन्सारमा सामान छुटाउन जानु भनेको जानीजानी कोरोना भाइरस सार्न जानुजस्तै भएको छ’, भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले भने, ‘हामीले भन्सार पनि एकसाताका लागि बन्द गर्न माग गरे पनि सुनवाइ नभएपछि एजेन्टहरु भन्सार जानै छाडेका हुन् ।’

‘मुख्यमन्त्री कार्यालयको प्रशासन विभागमा साता पहिला पीसीआर परीक्षणका लागि निवेदन दिएका थियौं,’उनले भने, ‘अहिलेसम्म भन्सार एजेन्टले पीसीआर परीक्षण गराउन पाएका छैनन् ।’ स्वास्थ्यकर्मीको टोलीले कर्मचारीको स्वाब क्वाटरमा गएर संकलन गर्‍यो । तर एजेन्टले एकसाता पहिला परीक्षणको माग गर्दा अहिलेसम्म सुनवाइ भएको छैन । पीसीआर परीक्षण गरेर रिपोर्ट नआएसम्म कुनैपनि एजेन्ट भन्सार नजाने अडानमा छन् । परासरले भने, ‘नेपालमा भारतबाट कोरोना भित्रेको भनिन्छ । त्यही भारतवाट आउने मालबाहक ट्रक, कन्टेनरका सामान छुटाउन हामी किन जाने ?’ भन्सार प्रशासनले पनि एजेन्टको पीसीआर परीक्षणमा असहयोग गरेको परासरको गुनासो छ ।

विराटनगर भन्सारमा १७ जना एजेन्टसहित उनीहरु र उद्योगका प्रतिनिधि गरेर ६० जना एजेन्ट छन् । ति मध्ये एकको दुईसाता पहिला मृत्यु भएको थियो । मृतकको कोसी अञ्चल अस्पतालमा पिसिआर रिपोर्ट पोजिटिभ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेगेटिभ रिपोर्ट आएको थियो ।

जोगबनी नाकाबाट पछिल्लो समय व्यापारिक सामानको आयात नभएपनि खाद्यन्न, हाइड्रो पावरका सामान, केही औधोगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थ आयात भइरहेको छ । भन्सार अधिकृत उप्रेतीका अनुसार यो कार्यालयले अहिले दैनिक सरदर ४ करोड राजस्व असुली गर्दै आएको छ । कार्यलयले सुरुवाती ३ महिनाको लकडाउनमा चार अर्ब राजस्व असुली गरेको थियो ।

प्रकाशित : भाद्र ७, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?